fbpx




गीता गुरुङ

तापक्रम घटेर चिसो बढिरहेको यो समयमा पनि चुनावी सरगर्मीले देशको माहोल तातिरहेको छ । सफल रुपमा स्थानीय तहको निर्वाचन पार गरेर अब हामी पुनः प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको संघारमा उभिएका छौं । संविधान निर्माणका लागि नेपाली कांग्रेसलाई जनताले ठूलो पार्टीको जिम्मेवारी दिएर पठाएपछि र नेपाली कांग्रेसको जगमा बनेको र नेपाली कांग्रेस कै नेतृत्वमा रहेको सरकारले संविधान निर्माण र कार्यान्वयनको चरण जसरी पार गर्दै छ, अब देशको आर्थिक विकासका लागि पनि नेपाली कांग्रेस देशको ठूलो दलका रुपमा उदाउनको विकल्प छैन ।

यसै सन्दर्भमा चर्चा गरौं काठमाडौं क्षेत्र नं ५ को । यस अघि २०६४ र २०७० सालमा भएका दुई वटा संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको यस क्षेत्र अहिले व्यापक चर्चामा छ । यस क्षेत्रका जनपक्षीय कांग्रेसी नेता नरहरी आचार्यको स्वास्थ्य अवस्थाले गर्दा उनी यसपालिको निर्वाचनमा सहभागि हुन सकेनन् । उनको चाहना र पार्टीको आवश्यकतालाई मध्यनजर गर्दै कांग्रेसले एक जना चर्चित राष्ट्रिय व्यक्त्रित्व डाक्टर प्रकाश शरण महतलाई अगाडि सारेको छ । नुवाकोटमा जन्मिएका भएता पनि स्कूले जीवनदेखि काठमाडौं क्षेत्र नं ५ कै बाँसबारीमा बस्दै आएका महत चुनावी प्रतिस्पर्धामा उत्रिदैं गर्दा निर्वाचनको सुखद नतिजा निस्कने अनुमान गरिएको छ । सभासद हुँदै ऊर्जा र परराष्ट्र मन्त्रीसमेतको भूमिका निर्वाह गर्दै नेपाली कांग्रेसका प्रभावशाली नेता बन्न सफल पार्टी केन्द्रीय सदस्यसमेत रहेका डाक्टर महत नेपाली राजनीतिक वृतमा बौद्धिक नेताका रुपमा स्थापित छन् ।

ऊर्जा मन्त्री पदमा रहँदा भारतसँग विद्युत प्रसारण लाइनको सम्झौता गराउन सफल भएका उनकै कारण अहिले काठमाडौं लगायत देशका विभिन्न सहर लोडसेडिङ मुक्त भएको छ । उनले परराष्ट्रमन्त्री हुँदा भारत र चीनसँग नेपालको सन्तुलित परराष्ट्रनीतिलाई मजबुत बनाएका थिए । त्यसैगरी चीनसँग ‘ओविओआर’ सम्झौता गराएका उनले विभिन्न देशसँग दौंत्य सम्बन्ध कायम गर्न महत्वपूर्ण योगदान पुर्याएका थिए ।
अर्थशास्त्री, कुशल राजनीतिज्ञका साथै पराराष्ट्र मामिलामा विशेष दख्खल राख्ने महतको जित राजनीतिक परिवर्तन संस्थागत गर्दै देशको समुन्नतिका लागि अपरिहार्य रहेको छ ।

नेपाली कांग्रेसभित्रका बौद्धिक नेतृत्वका रुपमा परिचिति नरहरि आचार्यको परिचय र छविलाई जोगाइराख्न नेपाली कांग्रेसले विश्वास गरेको नेता र नरहरि आचार्यलाई दुई पटकसम्म विश्वास गरेको क्षेत्र नं ५ का मतदाताको विश्वासलाई कायम गर्न सक्ने यदि नेपाली कांग्रेसमा कोही थियो र छ भने त्यो डाक्टर महतमात्रै हो भन्ने चर्चाका बीच उनी अहिले घर दैलो अभियानमा व्यस्त छन् ।

नरहरीका सपना पूरा गर्न र जनताको १० वर्षसम्मको विश्वास पूरा गर्न पनि क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार महतको विजय अपरिहार्य रहेको टोखाको ग्रामीण क्षेत्र होस् या लाजिम्पाटको सहरिया जीवनमा बाँचिरहेका मतदाताबीचमा सल्लाह चल्नुलाई एउटा महत्वपूर्ण कडिका रुपमा लिइएको छ । घरदैलो अभियानमा जनताको न्यानो माया र साथ पाइरहेका महतले प्रदेशका दुई उम्मेदवार रमेश खड्का (ख) र रमा गुरागार्इं (क)सँगसँगै बिहान ६ बजेदेखि बेलुका ८ बेजसम्म घरदैलो र भेटघाट चलाइराखेका छन् । काठमाडौं ५ कै स्थानीय नेता भएकाले पनि घरदैलो कार्यक्रम गर्न अन्य दलका उम्मेदवारलाई भन्दा महतलाई सहज देखिएको छ ।
हालसम्म कुनैपनि दाग नलागेका र स्वच्छ छवि भएका महतसँग चुनावी प्रतिस्पर्धामा रहेका प्रतिस्पर्धीको यस अघिका विभिन्न खाले हतकण्डा जनमानसा अझैपनि ताजा रहेको छ । बौद्धिक र विद्यार्थी जीवनबाट आएकी बालुवाटारकी स्थानीय वासिन्दा रमा गुरागाईं र स्थानीय समाजसेवीको छवि बनाएका रमेश खड्काको साथमा सँगै चुनावी अभियानमा रहेका महतले भेगीय हिसाबलाई पनि उत्तिकै ध्यान दिइरहेका छन् । जनगुनासोलाई अत्यन्तै गम्भीरतका साथ लिने महतले समग्र क्षेत्र नं ५ को विकासकालागि पनि रोडम्याप बनाउन सामथ्र्य राख्छन् ।

उनका प्रतिद्वन्दीका रुपमा सारिएका वाम गठबन्धनका उम्मेदवारको चुनावी अभियानमा प्रधानमन्त्री बनाइदिने उधारो आश्वासन दिएर क्षेत्र नंम्बर ५का मतदातालाई जसरी झुक्याउने प्रयास गरिँदै छ, महतले त्यस्तो गरेका छैनन् । महतको जित क्षेत्र नम्बर ५ का जनताले देखिने गरी र महसुस हुने गरी विकासका कार्यक्रम लागू गर्न अपरिहार्य देखिएको छ । उधारो वचन भन्दा वास्तविकताको धरातलमा काठमाडौं ५ का मतदाताले निर्णय गर्छन् भन्नेमा कुनै दुई मत छैन ।

(गुरुङ नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य हुन्)

तपाईंको प्रतिकृयाहरू