fbpx




दोहा, कात्तिक २३ (एजेन्सी)– विदेशी कामदारलाई श्रम शोषण गरेको भन्ने आरोपका बारेमा संयुक्त राष्ट्रसंघको श्रमसम्बन्धी एजेन्सीले कतारलाई ‘क्लिन चिट’ दिएको छ ।

संयुक्त राष्ट्रसंघको श्रमसम्बन्धी एजेन्सी अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)ले कतारमाथि विदेशी कामदारलाई व्यापक मात्रामा श्रम शोषण गरेको भन्ने विषयमा गरेको अनुसन्धानपछि कतारलाई सम्पूर्ण आरोपबाट मुक्त गर्दै उसले केही साता अघि ल्याएको सुधारको योजनालाई प्रशंसासमेत गरेको छ ।

विश्वका विभिन्न अधिकारवादी संघ–संस्था एवं अन्तर्राष्ट्रिय श्रम युनियनहरुले कतारले फिफा विश्वकप फुटबल प्रतियोगिताको भौतिक संरचना बनाउन खटिएका विदेशी कामदारसहितलाई कामको शिलशिलामा दुःख दिएको आरोप लगाउँदै आएका थिए । कतारले जवर्जस्ती काममा लगाउन नपाउने विश्वव्यापी सम्झौताको उल्लंघन गरेको छ वा छैन भन्ने बारेमा पत्ता लगाउन अन्तर्राष्ट्रिय श्रमिक संगठनले अनुसन्धान सुरु गरेको थियो ।

विश्वव्यापी रुपमा दबाब आएपछि कतारले केही साता अघि मात्रै व्यापक सुधारको योजना अगाडि सारेको थियो । कतारले पछिल्लो समय ल्याएको सुधारको कार्यक्रमअन्तर्गत पहिलो पटक न्युनतम ज्यालादरको व्यवस्था गरेको थियो । कतार आएपछि काम परिवर्तन नहोस् भनेर सरकारसँगै श्रम सम्झौताको व्यवस्था गर्ने र श्रमिकले कतार छोड्न चाहेमा रोजगारदाता कम्पनीले रोक्न नसक्ने प्रावधान पनि उसले ल्याएको थियो ।

‘कतारले पछिल्लो समय ल्याएको सुधारको कार्यक्रम र त्यस सुधारको कार्यक्रमलाई लागू गर्न व्यक्त गरेको प्रतिबद्धताले कतारमा काम गरिरहेको विदेशी कामदारको हकमा सकारात्मक परिवर्तन ल्याएको छ,’ अन्तर्राष्ट्रिय श्रमिक संगठनका अध्यक्ष लक कर्टिबेकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘कतारमा अब विभिन्न क्षेत्रमा काम गरिरहेका करिब २० लाख कामदारले द्वन्द व्यवस्थापन प्रणालीसहित सुदृढ सुरक्षाको प्रत्याभूति गर्न पाउने छन्, जसमा आन्तरिक कामदारको पनि पहुँच हुनेछ,’ कर्टिबेकले बताएका छन् ।

कतारको सूचना कार्यालयले विदेशी कामदारको अधिकारका लागि सरकारले चालेको कदम पनि सार्वजनिक गरेको छ । जसमा कामदार बसिरहेको बासस्थानको सुधार गर्ने, स्वास्थ्य सेवा बढाउनका लागि तीनवटा आधुनिक अस्पताल र चार वटा नयाँ स्वास्थ्य केन्द्र बनाउने, नयाँ श्रम करार प्रणाली लागू गर्ने र ज्याला संरक्षण प्रणाली लागू गर्ने रहेका छन् ।

 

 

तपाईंको प्रतिकृयाहरू