fbpx




काठमाडौं, कात्तिक २४- नेपाली कांग्रेसले परराष्ट्र नीतिमा सबै दलसँग छलफल गरी राष्ट्रिय सहमति कायम गर्ने प्रतिबद्धता घोषणा पत्रमा गरेको छ । परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गरे सबैको एउटै नीति, एउटै आवाज हुने बुझाइ कांग्रेसको छ ।

‘परराष्ट्र मामिलाका विषय राष्ट्रिय हितसँग सम्बद्ध र दूरगामी महत्वका हुनेहुँदा परराष्ट्र नीतिमा राष्ट्रिय सहमति निर्माण गरी समग्र राष्ट्रको एकताबद्ध, एउटै नीति, एउटै आवाज, एउटै व्यवहार तथा एउटै माध्यमको अवधारणाअनुरुप सबै सम्बद्ध निकाय र नेतृत्वबाट कूटनीतिक मर्यादाको पूर्ण पालना गराउने विषयलाई नेपाली कांग्रेसले प्राथमिकतामा राख्नेछ,’ घोषणापत्रमा कांग्रेसले भनेको छ । कांग्रेसले नेपालको राष्ट्रिय पुनर्जागरण र नयाँ अन्तर्राष्ट्रिय पहिचानका लागि दुई ठूला छिमेकी भारत र चीन भरपर्दो मित्र र सहयोगी हुने विश्वास व्यक्त गरेको छ । ‘हाम्रो विवेकपूर्ण राष्ट्रिय व्यवहार र परराष्ट्र सम्बन्धका माध्यमबाट हामी दुवै छिमेकी मुलुकसँग स्वाधीन र स्वतन्त्र राष्ट्रको पहिचान बोकेर सम्मानपूर्ण सहकार्य गर्दै आर्थिक विकासको साझा गन्तव्यमा सहयात्री हुन सक्छौं,’ कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

भारत र चीनसँग मैत्रीपूर्ण र सम्मानजनक सम्बन्ध, लगानी र व्यापार, ऊर्जा, पर्यटन, यातायात र संचारको बाधारहित संजालका माध्यमबाट नेपालमा समृद्धि र पुनर्जागरणको युग प्रारम्भ गर्ने संकल्प कांग्रेसले गरेको छ । कांग्रेसले मुलुकको स्वाभिमान, स्वाधीनता, सम्मान र हित सर्वदा अपरिवर्तनीय रहने जनाउँदै यसमा कसैसँग पनि कुनै किसिमको सम्झौता नगर्ने बताएको छ । दुई छिमेकी भारत र चीन एक्काइसौं शताब्दीकै महत्वपूर्ण र शक्तिशाली राष्ट्रका रुपमा उदय भएकाले नेपालको महत्व झन् बढेको ठम्याइ कांग्रेसको छ ।
‘नेपालले दुई निकट छिमेकी मित्रराष्ट्रसँग भौगोलिक यर्थाथलाई केन्द्रविन्दुमा राखेर आपसी विश्वास, सहयोग र सहकार्यको वातावरण प्रगाढ बनाउँदै लैजान र परिवर्तित सन्दर्भमा विद्यमान र उदयीमान विश्व शक्तिसँग सहयोगात्मक सम्बन्धमा समयानुकूल गतिशीलता प्रदान गर्न आवश्यक छ,’ ‘छिमेकी मित्रराष्ट्र भारत र चीनसँग विश्वसनीय र मैत्रीपूर्ण, सन्तुलित सहयोगात्मक सम्बन्ध र सहकार्य गर्नु नेपालको परराष्ट्रनीतिको सर्वाधिक उच्च प्राथमिकता रहनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा छ ।’

आन्तरिक राजनीतिमा बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुधु्रवीय सिद्धान्तमा कांग्रेसको विश्वास रहेको घोषणापत्रमा जनाइएको छ । कांग्रेसले पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्नता, राष्ट्रिय हित एवं सुरक्षा, विश्वशान्ति, अन्तर्राष्ट्रिय कानुन, लोकतन्त्र र मानवअधिकारलाई परराष्ट्र सम्बन्धका मूल आधार मानेको छ । छिमेकी मित्रराष्ट्रको सुरक्षा र संवेदनशीलतालाई ध्यानमा राख्दै नेपालको भूमि कुनैपनि राष्ट्रको हितविपेरित प्रयोग गर्न नदिने नीति नेपाली कांग्रेसले लिएको छ । कांग्रेसले नेपालको भूमिबाट शान्तिसुरक्षा, सम्मान र राष्ट्रिय हितविपरीत विदेशी भूमिबाट समेत कुनै पनि हिंसात्मक गतिविधि हुन नदिने नीति लिएको छ ।क्षेत्रीय सहयोग, समझदारी र विकासका लागि सार्क, तथा विमिस्टेकलगायतका क्षेत्रीय संगठनबाट सदस्य राष्ट्रहरुबीच समतामूलक लाभ प्राप्त हुनेगरी नेपालको भूमिकालाई प्रभावकारी बनाउने नीति कांग्रेसले लिएको छ । अल्पविकसित एवं भूपरिवेष्ठित मुलुकको हितअनुरुप द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा सक्रिय र गतिशील भूमिका निर्वाह गर्नेसमेत कांग्रेसले जनाएको छ ।

‘दक्षिण–दक्षिण सहयाृगको परिचालनबाट लाभ लिन आन्तरिक तयारी तीव्र बनाइनेछ । भूपरिवेष्ठित मुलुकले पाउने निर्वाध पारवहन सुविधानको सम्मान र प्रत्याभूति गर्ने नीति नेपाली कांग्रेसको रहनेछ,’ कांग्रेसले घोषणपत्रमा उल्लेख गरेको छ । सबै छिमेकी राष्ट्रसँग असल सम्बन्ध र सार्वभौम समानताका आधारमा स्वतन्त्र परराष्ट्रनीति अवलम्बन गर्दै गैरआवासीय नेपालीलाई मुलुकको विकास मूलधारमा समाहित गर्ने उनीहरुको सीप र पुँजीकाृ अधिकतम उपयोग गर्ने कांग्रेसको नीति छ ।

नागरिक दैनिकमा सुरेन्द्र पौडेलले लेखेका छन् ।

तपाईंको प्रतिकृयाहरू