fbpx




काठमाडौं, कात्तिक २४-नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकता दिएको छ । नेपालको विकास र नेपाली जनताको समृद्धिमा योगदान पु¥याउने गरी अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिलाई व्यवस्थित गर्ने प्रतिबद्धता एमाले र माओवादीले गरेका छन् ।

‘राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै छिमेकी एवं सबै मित्र राष्ट्रसँग संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील र असंलग्नताको सिद्धान्तअनुरूप सुमधुर सम्बन्ध कायम गरिनेछ,’ एमाले–माओवादी साझा घोषणापत्रमा जनाइएको छ ।
स्वतन्त्र परराष्ट्रनीति अवलम्बन गर्दै आन्तरिक मामिलामा बाह्य हस्तक्षेप अस्वीकार गरिने एमाले र माओवादीले जनाएका छन् । दुवै पार्टीले हीनताबोध र आत्मसमर्पणवादी मान्यतालाई निरुत्साहित गर्ने प्रतिबद्धता गरेका छन् । ‘विश्वशान्ति, मानवता, सद्भाव र मैत्रीपूर्ण सम्बन्धलाई विस्तार गरिनेछ,’ एमाले र माओवादीको साझा घोषणापत्रमा उल्लेख गरिएको छ, ‘भारतसँग गरिएको सन् १९५० को सन्धिलगायत सबै असमान सन्धि र सम्झौताको पुनरवलोकन गरी राष्ट्रिय हित र आवश्यकताअनुरूप प्रतिस्थापन गरिनेछ ।’ एमाले र माओवादीले भारतसँगको सीमा समस्या समाधान र सीमानाका व्यवस्थापनका लागि कूटनीतिक पहल गर्ने घोषणापत्रमा जनाएका छन् ।

दुवै पार्टीले गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र आर्जनलाई राष्ट्र निर्माणमा लगाउने नीति लिएका छन् भने प्रवासी नेपाली नागरिकको श्रमसम्बन्धी हकलगायत अन्य हकको सुरक्षाका लागि प्रभावकारी पहल गर्ने जनाएका छन् ।

 

नागरिक दैनिकमा सुरेन्द्र पौडेलले लेखेका छन् ।

तपाईंको प्रतिकृयाहरू