fbpx




काठमाडौं, कात्तिक २४-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो घोषणापत्रमा बाह्य शक्तिको चलखेल, प्रभाव र हस्तक्षेपले राष्ट्रिय सार्वभौमिकता खण्डित हुने खतरा बढेको उल्लेख गर्दै राष्ट्रिय स्वार्थ तथा स्वाभिमानको रक्षा र प्रवद्र्धन गर्न परराष्ट्र नीतिलाई सम्मानजनक ढंगबाट अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

‘नेपालको इतिहासमा सम्भवतः सन् १८१६ पश्चात् पहिलो पटक मुलुकको राष्ट्रिय अखण्डता र सार्वभौमिकता अहिले सर्वाधिक चुनौतीपूर्ण स्थितिमा खडा भएको छ,’ घोषणापत्रमा भनिएको छ, ‘यस अवस्थामा राप्रपाले राष्ट्रिय स्वार्थ र स्वाभिमानको रक्षा र प्रवद्र्धनको निमित्त परराष्ट्र नीति र सम्बन्धलाई पुनः सम्मानजनक ढंगबाट अघि बढाउनेछ ।’

देशभित्र विकसित भएको आत्मसमर्पणवादी मानसिकताको परिणामस्वरुप बाह्य शक्तिको चलखेल बढ्न गएको ठहर राप्रपाले गरेको छ । राप्रपाले दुवै छिमेकी भारत र चीनसँग पारस्परिक मित्रता, सहयोग र साझा स्वार्थको अभिवृद्धिलाई उच्च प्राथमिकता दिने जनाएको छ । ‘छिमेकी मुलुकसँग समझदारी कायम गरी नेपाललाई शान्ति क्षेत्रका रुपमा कायम गर्ने राप्रपाको परराष्ट्र नीतिको प्राथमिकतामा रहनेछ,’ घोषणापत्रमा उल्लेख छ । भारत र चीनले प्राप्त गरेको उपलब्धिलाई नेपालको बृहत्तर हित र आर्थिक समृद्धिका निमित्त सदुपयोग गर्ने नीति राप्रपाले लिएको छ । ‘केही उतारचढावका बावजुद भारतसँगको हाम्रो घनिष्टतम सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्ध रहेको छ । नेपाल–भारत सम्बन्धको तुलना अन्य कुनै मुलुकसँगको सम्बन्धमा हुन सक्दैन,’ राप्रपाले भनेको छ । भारतसँग असल र मित्रतापूर्ण सम्बन्ध नेपालको हितमा हुने ठहर राप्रपाको छ । राप्रपाले नेपाल–चीन सम्बन्धको आफ्नै अलग आयाम र विशिष्टता रहेको जनाएको छ । चीनसँगको सम्बन्धको विषयमा राप्रपाले घोषणापत्रमा लेखेको छ, ‘चीन नेपालको भरपर्दो मित्रका रुपमा सदैव रहेको छ । एक चीन नीतिप्रति राप्रपा प्रतिबद्ध छ ।

 

चीनले हासिल गरेको तीव्र आर्थिक विकासबाट लाभ लिन आगामी दिनमा पारवहन, व्यापार, यातायात, रेल, विद्युत् र पर्यटन क्षेत्रको विकास र विस्तारको निमित्त राप्रपाले आवश्यक पहल गर्नेछ ।’ दुवै छिमेकी भारत र चीनसँग पारस्परिक मित्रता, सहयोग र साझा स्वार्थको अभिवृद्धिका लागि समानताका आधारमा सम्बन्ध सुदृढ गर्ने राप्रपाले जनाएको छ । राप्रपाले आर्थिक कूटनीतिलाई बढावा दिने बताएको छ । भारतसँग सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि परिवर्तन गर्नुपर्ने पक्षम राप्रपा पनि उभिएको छ । ‘भारतसँग सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धिलाई समयानुकूल परिवर्तन गरी दुई देशको सम्बन्ध थप सुदृढ तुल्याउन नयाँ सन्धि गरिनेछ तथा विभिन्न मुलुकसँग भएका राष्ट्रिय हितविपरीतका असमान सन्धि खारेज र परिमार्जन गरिनेछ,’ राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

 

 

नागरिक दैनिकमा सुरेन्द्र पौडेलले लेखेका छन् ।

तपाईंको प्रतिकृयाहरू