fbpx




प्रज्जवल थापा

काठमाडौं, कात्तिक २६ (नेपालनीति)– केही दिन अघि विभिन्न सञ्चारमाध्यममा भावी सरकारमा रहने परराष्ट्रमन्त्रीको नाम सार्वजनिक भयो । प्रसंग नेकपा (एमाले) का केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चाबहिलमा आयोजना भएको कार्यक्रममा विदेश मामलाका जानकार संयुक्त वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का काठमाडौं चारका प्रतिनिधिसभा उम्मेदवार डाक्टर राजन भट्टराईलाई परराष्ट्र मन्त्री बनाउने भन्ने विषयसँग सम्बन्धित थियो ।

कार्यक्रममा एमाले पार्टी अध्यक्ष ओलीले राजन भट्टराईलाई चाबहिलदेखि संसद् भवन र संसद् भवनबाट चाबहिलसम्म जान–आउनका लागि मात्रै वाम गठबन्धनले टिकट नदिएको भन्दै क्षेत्र नम्बर ४ का मतदातासमक्ष भट्टराईलाई जिताउन अपिल गरेका थिए । २०४७ सालपछि काठमाडौं ४ को संसदीय निर्वाचनको मतपरिणाम इतिहास हेर्ने हो भने अहिलेसम्म दुई पटक कसैले पनि नजितेका कारण र भट्टराई बलियो उम्मेदवार भएका कारण यसपालि उनको पल्ला भारी हुने पक्का छ । भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनमा आएको मतपरिणाम र संयुक्त वाम उम्मेदवार भएका कारण पनि उनको जित सहज हुनेमा ढुक्क हुन सकिन्छ । भट्टराईको जितको अर्को आधार भनेको सिन्धुपाल्चोक फ्याक्टर पनि एक हो । निर्वाचन क्षेत्र नं ४ मा काठमाडौं बाहिरबाट आएर सिन्धुपाल्चोकका मानिस बढी बस्छन् । पुख्र्यौली घर सिन्धुपाल्चोक भएका भट्टराईलाई यस तत्वले काम गर्ने हुँदा उनको जितको आधार मजबुत छ भन्न सकिन्छ ।

 

त्यति मात्रै नभई उनको जितमा कांग्रेस भित्रको घात प्रति घातले पनि भूमिका खेल्ने छ । स्थानीय निर्वाचनका बेला एउटा गुटका कांग्रेसले खुलेरै प्रति घात गरेको विषय सेलाएको छैन । यद्यपि कांग्रेसले प्रतिनिधि सभाको एउटा र प्रदेश सभाका दुई वटै क्षेत्रमा गुट अनुसार सन्तुलनका आधारमा टिकट वितरण गरेको जस्तो देखिएपनि क्षेत्रभर कै सबैभन्दा धेरै मतदाता रहेको कपन र महाँकाल क्षेत्रका स्थानीय कांग्रेस नेतालाई समानुपातिकसमेतमा नराख्नुले कांग्रेसलाई जित असहज हुने देखिएको छ । भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनमा लज्जास्पद हार बेहोरेको कांग्रेसको हारेको मानसिकता पनि एमालेको जितको आधार हो ।

त्यसैले पनि एमालेका उम्मेदवार रक्षात्मक र व्यवस्थित तर कांग्रेस प्रतिआक्रामक गतिमा चुनावी अभियानमा संलग्न भइरहेको देखिन्छ । दुई पटकसम्म एउटै दलका नेतालाई जिताएर पठाउँदा पनि सोचे अनुरुपको विकास गतिविधि नभएको भन्दै यसपालि मतदाता रुष्ट भएका छन् भने चुनावका मुखमा भइरहेको विकासको झारो टराईले पनि मतदाताको मनस्थितिमा परिवर्तन आउने संकेत देखिएको छ । एमालेका तर्फबाट उम्मेदवार रहेका भट्टराई पनि यस अघि संसद् रहेका थिए । उनलाई मन्त्रिपरिषद्ले मनोनयन गर्ने कोटाबाट मनोनित गरेको थियो । उनी समानुपातिक सभासद भन्दा पनि बढी मनोनित सभासद थिए । सभासद कोषमा आउने रकम उनले जुनैपनि क्षेत्रमा हाल्न पाउने सुविधालाई वेवास्ता गर्दै सबै बजेट निर्वाचन क्षेत्र नं ४ मा नै प्रयोग गरेका थिए । उनले प्रत्यक्ष निर्वाचित सांसद जस्तो प्रत्यक्ष भूमिका निर्वाह गर्न अप्ठेरो थियो तरपनि सक्दो गरे । परिवर्तन चाहिरहने र दैनिक रुपमा देखिएका समस्यासमेत सम्बोधन गर्न नसक्ने नेताका विकल्पका रुपमा राजन भट्टराई कतिको सफल सावित हुन्छन् त्यो त उनको जित पछि नै थाहा होला, तर अहिले भने उनी काठमाडौं ४ मा भारी हुँदै गएको भने प्रष्ट देखिएको छ ।

(थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का मतदाता  तथा क्युरोसिटी आइटी एन्ड इन्जिनियरिङ कम्पनीका प्रमुख हुन् । )

तपाईंको प्रतिकृयाहरू