fbpx




काठमाडौं, कात्तिक २८ (नेपालनीति)- दुई चर्चित युवा नेताको उम्मेदवारीका कारण काठमाडौं क्षेत्र नम्बर ४ यतिबेला चर्चामा रहेको छ ।
काठमाडौं ४ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा गगन थापा र नेकपा एमालेसहितको वाम गठबन्धनबाट राजन भट्टराई उम्मेदवार रहेका छन् ।

दुवै उम्मेदवारमा केही समानता छन् । दुवै युवा छन् र विद्यार्थी राजनीतिबाट आएका हुन् । दुवैले हालसम्म पाएको जिम्मेवारीलाई पनि सक्दो न्याय गरेका छन् । गगन थापाले स्वास्थ्यमन्त्री रहँदा देखिने गरी केही सुधारका काम गरे भने सन् १९५० को सन्धिसहित नेपाल भारत सम्बन्धको विषयमा पुनरावलोकनसहित सुझाव दिन गठन गरिएको प्रबुद्ध व्यक्तिहरुको समूहमा रहेर भट्टराईले सक्रियतापूर्वक कार्य गरे ।
काठमाडौं ४ का मतदाता चिया पसलदेखि सार्वजनिक सभा सम्मेलनमा छलफल गर्दा दुवै देशलाई आवश्यक रहेका नेता भएकाले एक अर्काबीच प्रतिस्पर्धा नगरेको भए हुन्थ्यो भन्ने भाव व्यक्त गरिरहेको पाइन्छ ।

चुनावी घरदैलोमा रहेका दुवै नेता आफ्नो जित हुनेमा ढुक्क देखिन्छन् । महानगर क्षेत्रमा कांग्रेसको मत राम्रो भएकाले र प्रदेश सभाका उम्मेदवार पनि सशक्त रहेकाले आफ्नो जित हुने थापा ढुक्क देखिन्छन् भने स्थानीय निकायमा एमालेको जित भएकाले आफ्नो जित हुनेमा भट्टराई ढुक्क देखिन्छन् । गगन र थापा दुवैले निर्वाचन जित्ने दावी गरिरहँदा अहिलेसम्म नखुलेका र स्थानीय निकाय पछि मतदाता सूचीमा नाम लेखाएका मतदाताले नै हार जितको फैसला गर्ने पक्का छ ।

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा ‘क ‘मा नरोत्तम वैद्य र ‘ख’ मा साधुराम खड्का रहेका छन् । त्यसैगरी एमालेको तर्फबाट प्रदेशसभा ‘क’ मा निर्मल कुइकेल र ‘ख’ मा कुसुमकुमार कार्की प्रतिस्पर्धामा रहेका छन् ।

 

तपाईंको प्रतिकृयाहरू