fbpx




गीता गुरुङ

प्रजातन्त्रका महानायक वि.पी कोइरालाको हातबाट २०२८ मा कांग्रेसको सदस्यता लिएका फरमुल्लाह मन्सुर, बारा जिल्लाबाट राजनीति थालेर राष्ट्रियस्तरको नेता बन्न एउटा सफल उदाहरणीय व्यक्तित्व हुन् । राजनीतिमा सरल र इमान्दारिताको स्वभाव बोकेर कर्तव्यनिष्ठताको परिचय बोक्ने कमै नेतामध्येमा गनिन्छन् मन्सुर । २०२७ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा सुरु गरेका मन्सुरले प्रजातन्त्रको सही अभ्यास गर्न र यसलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

२०३४ देखि २०३६ सम्म नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराको सहसचिव, २०३६ देखि २०४८ सम्म सचिव, २०४९ देखि २०५६ सम्म बारा जिल्ला सभापति भएका मन्सुर २०५६ सालको आम निर्वाचनमा बारा क्षेत्र ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । देशमा शान्ति र विकासका लागि अनवरत रुपमा कांग्रेसको राजनीतिमा सक्रिय नेपाली कांग्रेसका केन्द्रीय सदस्य मन्सुरले २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा बारा क्षेत्र नं ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भई नेपालको पहिलो लोकतान्त्रिक गणतान्त्रत्मक संविधान निर्माण गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएका थिए ।

निरकुंश पंचायती व्यवस्थाको अन्त्य गरि बहुदल स्थापना गर्न होस् या त राजतन्त्र उखेलेर गणतन्त्र ल्याउन नै किन नहोस्, इतिहासको कहाली लाग्दा कालखण्डमा उनले डटेर संघर्ष गरेका छन् । पटकपटकको जेल जीवनबाट अविचिलित रहि आन्दोलनको अग्र मोर्चामा उभिएका मन्सुरको यी र यस्ता विविध योगदान नेपाली जनताले पक्कै बिर्सेका छैनन् ।

 

देशैभरी लागेको निर्वाचनको रौनक प्रदेश नं २ मा पनि छाएको छ । सोही प्रदेशस्थित बारा जिल्ला क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् सन्त नेताका छवि बनाएका वर्तमान श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर । घर गृहस्थीको सांसारिक मोहसमेत त्यागेर सम्पूर्ण जीवन राजनीति र देशसेवाका लागि सुम्पेका मन्सुरले श्रम तथा रोजगार मन्त्रालय सम्हाल्दै गर्दा उनी अघिका मन्त्रीले गर्न नसकेका र असम्भव मानिँदै आएका कार्यहरु कुशलताका साथ सम्पन्न गररे ब्रेक थ्रु गरेका छन् । संसद्मा पेश भएर पनि विविध कारण देखाई पारित हुन नसकेको योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी ऐन र श्रम ऐन २०७४ उनको सक्रियतामा पारित भएर कार्यान्वयनमा आएको छ जसले नेपाली श्रमिकहरुमा उत्साहको सञ्चार गराएको छ । जोर्डन सरकारसँग द्विपक्षीय श्रम सम्झौता गराएर होस् या त रोजगारका लागि विदेशिएकाहरुलाई अंगभंग या मृत्यु भएको अवस्थामा उपलब्ध गराइने क्षतिपूर्तिको रकम तीन लाख बाट बढाएर ७ लाख पुर्याएर नै किन नहोस् उनले यी र यस्तै प्रशंसनीय कार्य गरेर ख्याती कमाएका छन् ।

 

कांग्रेसभित्र मधेसको कमान्डरको रुपमा चिनिने स्वच्छ छविका मन्सुरको जित सम्पूर्ण मधेसी जनताको आवाज बुलन्द गर्दै सिंगो देश विकासको लागि आवश्यक छ भन्नेमा दुईमत छैन । छलकपट अनि चाकडी र चाप्लुसीको राजनीतिबाट टाढा हुन रुचाउने मन्सुर निश्चय नै राजनीतिमा भविष्य खोजिरहेको युवाहरुको प्रेरणाको श्रोत हुन् । सुमार्गमा हिँड्न सिकाउने पथ प्रदर्शक हुन् मन्सुर । राजनीतिलाई विशुद्ध समाजसेवा सम्झेर निरन्तर सेवामा सक्रिय मन्सुरको जित बारा क्षेत्र नम्बर ३ को विकास, स्थायीत्व र लोकतन्त्रको संस्थागत विकासका लागि आवश्यक रहेको छ ।

मन्सुरका तुलनामा उनका राजनीतिक प्रतिस्पर्धीको राष्ट्रिय छवि कम हुनु र राष्ट्रिय राजनीतिमा बारा क्षेत्र नम्बर ३ को समस्यालाई केन्द्रीय सरकारमा डटेर राख्न सक्ने हैसियतका कारण पनि उनको जित अपरिहार्य रहेको छ । मधेशका नाममा राजनीति गर्ने ठूल्ठूला गफ गर्ने र मधेशका नाममा काम गर्ने बीचमा फरक छुट्याउनका लागि पनि मन्सुरको जित जरुरी रहेको छ ।

 

तपाईंको प्रतिकृयाहरू