fbpx




क्वालालाम्पुर, भदौ २९ (बिबिसी)-

मलेसियाको राजधानी क्वालालाम्पुरस्थित एउटा धार्मिक विद्यालयमा भएको आगलागीमा परी कम्तीमा २४ जना विद्यार्थी र शिक्षकको मृत्यु भएको छ ।
क्वालालाम्पुरमा रहेको ताफिज दरुल कुरान इत्तिफाकिया विद्यालयमा बिहीबार बिहानै आगलागी भएको बिबिसीले उल्लेख गरेको छ । विद्यालयको छात्रावासको झ्यालमा फलामको बार लगाएका कारण आगलागीका पीडितहरु थुनिएको अनुमान गरिएको छ । ‘मलेसियामा पछिल्लो २० वर्षयता भएको यो सबैभन्दा खराब प्रकोप हो,’ मलेसियाका अग्नी नियन्त्रण विभागका निर्देशक खिरुदिन द्रमानलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले उल्लेख गरेको छ । आगलागीका कारण सुरुमा २५ जनाको मृत्यु भएको भनिएपनि अधिकारीहरुले पछि २४ जनाको मात्रै मृत्यु भएको पुष्टि गरेका छन् । मारिनेमा १३ र १७ वर्षबीचका २२ जना छात्र र दुई जना कर्मचारी सदस्य रहेको बिबिसीले उल्लेख गरेको छ ।

तस्बिर : मलेसियाको राजधानी क्वालालाम्पुरमा आगलागी भएको धार्मिक विद्यालय । तस्बिर : एजेन्सी

स्थानीय समय अनुसार बिहीबार बिहान पाँच बजेर ४० मिनेटमा आगलागी सुरु भएको अधिकारीले जनाएका छन् । प्रहरीका अनुसार विद्यार्थी र शिक्षकहरु सुतिरहेको अवस्थामा आगलागी भएको थियो । ताजिफ इस्लामिक विद्यालयमा कोरान पढ्न बस्ने प्राय विद्यार्थी विद्यालयमा नै बस्ने गर्दछन् । सामाजिक सञ्जालमा आएका तस्बिर एंव भिडियोमा विद्यालयको माथिल्लो कोठा आगोको लप्काले बलिरहेको देखिएको छ ।
‘विद्यालय फलामको ग्रिलले घेरिएका कारणले भित्रबाट खोल्न नसिकने खालको रहेको छ । आगलागी भएर धुँवाको ठूलो मुस्लो आएको थाहा पाएपछि विद्यार्थीहरु झ्यालबाट भाग्न खोजेका थिए,’ अग्नी नियन्त्रण तथा उद्दार विभागका उप निर्देशक सोइमन जाहिदले विद्यालय परिसर बाहिर पत्रकारहरुलाई जानकारी दिए । ‘फलामको ग्रिलका कारण उनीहरु भाग्न सकेनन्,’ उनले थपे ।
आगलागीका कारण प्रहरीले खोजी गरिहेको बताउँदै जाहिदले भने सायद विद्युत सट भएर वा लामखुट्टे मार्न प्रयोग गरिने झोलको भाँडो पड्किएर आगलागी भएको हुनसक्छ । विद्यालयका नजिकै बस्ने एक छिमेकीले विद्यार्थीहरु कराएको आवाज सुनिएको र आगोको मुस्लो देखेको समाचार एजेन्सी रोयटर्सलाई बताएका छन् ।
‘विद्यार्थीहरु सहयोगका लागि कराइरहेका थिए तर मैले उनीहरुलाई सहयोग गर्न सकिन किनभने ढोका पहिले नै जलिसकेको थियोे,’ उनले थपे । क्वालालाम्पुर प्रहरी प्रमुख अमर सिंहका अनुसार मारिने सबैको शव पूर्ण रुपमा जलेको छ । ‘दुर्भाग्यवस त्यस विद्यालयमा एउटा मात्रै बाहिर निस्कने ढोका थियो । सबै शव एक अर्कामाथि रहेका थिए,’ उनले बताए ।
अधिकारीका अनुसार आगलागी भएको क्षेत्रमा केही मिनेटमा नै अग्नि नियन्त्रण गर्ने साधन पुगेका थिए र आगो एक घण्टाभित्र नियन्त्रणमा आएको थियो । धुवाँले उकुसमुकस भएर श्वासप्रश्वासमा समस्या आएका केही विद्यार्थीलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।
यसैबीच विद्यालयमा आगलागी भएर २४ जनाको मृत्यु भएपछि मलेसियाका प्रधानमन्त्री नाजिव राज्जाकले ट्विट गर्दै पीडितलाई सहानुभूति प्रकट गरेका छन् भने सरकारका एक मन्त्रीले घटनाका बारेमा सुक्ष्म रुपमा अनुसन्धान गरिने बताएका छन् । उनले भनेका छन् अनुसन्धानका आगामी दिनमा यस्ता घटनाबाट बच्न सकियोस् भनेर सजिलो हुनेछ ।
‘पीडित परिवारलाई हामी सहानुभूति प्रकट गर्दछौं । पछिल्लो केही वर्षपछि राजधानीमा भएको यो ठूलो घटना हो,’ मन्त्री लोगा बाला मोहनले एएफपीलाई बताए ।

 

तपाईंको प्रतिकृयाहरू