fbpx




हरारे, कात्तिक २९ (बिबिसी)- जिम्बावेको सेनाले राष्ट्रिय प्रसारण संस्था जेबिसीलाई नियन्त्रणमा लिएपछि वक्तव्य पढ्दै अपराधीलाई लक्षित गरेर यस्तो कदम चालेको बताएको छ ।

सरकारी प्रसारण संस्थामा कब्जा जमाए पनि जिम्बावे सेनाले सरकारमाथि कब्जा नजमाएको बताउँदै राष्ट्रपनि रोबर्ट मुगावे सुरक्षि रहेको विज्ञप्ति वाचन गर्दै एक जर्नेलले बताएका छन् । जिम्बावे सेनाले सत्ता कू नगरेको बताएपनि राजधानी हरारेमा बुधबार बिहान सबेरै गोली चलेको र बम पड्केको आवाज सुनिएको बताइएको छ । साउथ अफ्रिकाका लागि जिम्बावेका विशेष दूत इज्याक मोयोले पहिले कू भएको अस्विकार गर्दै सरकार सुरक्षित रहेको बताएका थिए ।

सैनिक पोशाकमा देखिएका मेजर जर्नेल सिबुसिसो मोयोले टेलिभिजनमा एउटा विज्ञप्ति वाचन गर्दै सेनाले सत्ता हातमा नलिएको प्रष्ट पारे । उनको यस्तो वक्तव्य जिम्बावे सेनाले जेबिसीको मुख्यालय कब्जा गरेको केही घण्टा पछि आएको थियो । ‘हामी सिंगो जिम्बावेलाई यो विश्वस्त बनाउन चाहान्छौं कि महामहिम राष्ट्रपति र उनका परिवार सुरक्षित छन् र उनीहरुको सुरक्षाको प्रत्याभूति गरिएको छ,’ टेलिभिजमा वक्तव्य वाचन गर्दै जिम्बावे सेनाका मेजर जर्नेल मोयोले बताए । उनले जिम्बावेको सेनाले राष्ट्रपति मुगावेको वरिपरि रहेर हाम्रो देशमा सामाजिक र आर्थिक समस्या ल्याउन उद्धत अपराधीलाई मात्रै लक्षित गरिएको बताएका छन् । ‘हाम्रो अभियान समापन गरेसँगै देशको अवस्था साधारणतर्फ लाग्ने विश्वास गरेका छौं,’ वक्तव्य वाचन गर्दै उनले बताए । ती जर्नेलले वाचन गरेको वक्तव्यमा कसलाई कारबाही गर्ने भन्ने बारेमा नाम सार्वजनिक नगरिएपनि सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सेनाको नियन्त्रणमा परेका मध्ये जिम्बावेका अर्थमन्त्री इग्नाटियस चोम्बो पनि एक हुन् । जिम्बावेमा भएको यस सैनिक विद्रोहको नेतृत्व कसले गरिरहेको छ भन्ने बारेमा भने प्रष्ट नभएको बिबिसीले उल्लेख गरेको छ ।

मेजर जर्नेलले दिएको टेलिभिजन वक्तव्यका अन्य बुँदामा जिम्बावेका नागरिकलाई धैर्य रहन र अनावश्य हिँडडुल गर्न प्रतिबन्ध गरिएको छ । जिम्बावेको सेनाले स्वतन्त्र न्यायपालिका कायम हुने विश्वास दिलाएको छ । वक्तव्य मै सुरक्षा सेवाले देशको हितका लागि सेनासँग सहकार्य गर्नुपर्ने र यदि कसैले यसलाई वेवास्ता गर्छ भने त्यसले सजायको भागेदार हुनपर्ने पनि बताइएको छ ।
सुरक्षा फौजमा काम गर्ने सबैको बिदा अस्विकार गरिएको छ र सबै सेनालाई आ–आफ्नो ब्यारेकमा तत्काल हाजिर हुन पनि वक्तव्य मार्फत आदेश दिइएको छ । पछिल्ला घटनाक्रमपछि अमेरिका र वेलायतले हरारेको अवस्था स्पष्ट नहुञ्जेल जिम्बाबेमा रहेका आफ्ना नागरिकलाई घर बाहिर ननिस्कन भनेका छन् ।

अमेरिकी दूतावासले जिम्बाब्वेमा राजनीतिक अन्योल रहेको भन्दै आफ्ना कर्मचारीलाई घरभित्रै बस्न भनेको छ । जिम्बावेका विपक्षी नेता मोर्गन भांगिराईका पूर्व सल्लाहकार एलेक्स मगाइसाले सरकारी सेनाको दावीप्रति विश्वास गर्दै कू नभएकोमा विश्वस्त रहेको बताएका छन् । सेनाको कदमलाई विपक्षी दलले कूको संज्ञा नदिने निर्णय गरेको पनि उनले बताए । उत्तराधिकारी चयनसम्बन्धी विवादका माझ अघिल्लो साता राष्ट्रपति मुगाबेले उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई बर्खास्त गरेका थिए । मनाङग्याग्वालाई भावी राष्ट्रपतिका रुपमा विगतमा हेरिएको थियो । तर सो घटनाक्रमपछि प्रथम महिला ग्रेस मुगाबे उक्त पदका लागि प्रमुख दावेदार बनेकी छिन् ।

 

यसअघि मंगलबार सत्तारुढ दलले जिम्बाब्वेका सेना प्रमुखले विद्रोहलाई बढावा दिइरहेको आरोप लगाएको थियो। सेना प्रमुख जेनरल कन्सट्यान्टिनो चिवेङाले राष्ट्रपति रोबर्ट मुगाबेले उपराष्ट्रपतिलाई बर्खास्त गरेपछि सम्भावित सैनिक हस्तक्षेपको चेतावनी दिएका थिए।
उनले मुगाबेको जानु पिएफ पार्टी्भित्र भइरहेका विपक्षीलाई सफाया गर्ने निर्णयहरु रोक्न कदम चाल्न सेना तयार रहेको जनाएका थिए।

 

तपाईंको प्रतिकृयाहरू