काठमाडौं, मंसिर २ (नेपालनीति)- नेपाली राजनीति सेवा भन्दा पनि पेशा बनिरहेको पछिल्लो समयमा सादगी नेताका रुपमा राजनीति गर्ने केही नेता पनि छन् भन्ने सुन्दा अचम्म लाग्नसक्छ । नेपालमा राजनीति गरेर सांसद र मन्त्री पदमा बहाल भइसक्दा पनि व्यक्तिगत सम्पत्ति नभएका र जोगीसरह जीवन बिताउने सिमित नेता पनि छन् । राजनीतिक जीवनमा भोगभन्दा बढी त्याग र समर्पण गरेर कमाउनुको साटो पुख्र्याैली सम्पत्ति पनि सिध्याएका केही सादकी नेतामध्ये एक हुन् वर्तमान श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मन्सुर ।
निष्ठा, समर्पण र त्याग गर्ने पछिल्लो पुस्तामा रहेका कमै नेता मध्ये नेपाली कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरपनि एक हुन् । नेपाली राजनीतिमा लागेर व्यक्तिगत सम्पत्ति नथुपार्ने कमै नेतामध्ये पनि अधिकांश नेता कम्युनिष्ट विचार राख्ने भन्दा पनि पुँजीवादी विचार राख्ने पार्टीका रहेका छन् भन्दा अचम्म लाग्नसक्छ । नेपाली कांग्रेसको राजनीति गरेका सन्त नेता कृष्णप्रसाद भट्टराई हुन् वा शुशील कोइराला, उनीहरुले विचारको राजनीति गरे, आदर्थको राजनीति गरे र जनताका लागि राजनीति गरेर व्यक्तिगत सम्पत्ति वा मोहभन्दा पनि देशलाई ध्यानमा राखे । नेपाली कांग्रेसभित्र विपीको आदर्श, किसुनजीको जस्तो सामान्य जीवन र शुशील दाको जस्तो निष्ठाको राजनीति गर्ने एकाध व्यक्तिमा पर्छन् वर्तमान नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुर ।
राजनीति गरेर, सांसद भएर, मन्त्री बनेर व्यक्तिगत सम्पत्ति नजोडेका मन्सुरले घर ठड्याएका छैनन् किनभने, उनको योजना नै सकुञ्जेल राजनीति गर्ने, नसकेका दिनदेखि वृद्धाश्रममा गएर बस्ने छ । त्यसैले निजी घर जग्गा जोड्नुको सट्टा उनले बारामा संजिवनी बाटिका नामक वृद्धाश्रम बनाएका छन् । राजनीतिक जीवनको समापनपछि अन्य वृद्धवृद्धासँगै संजिवनी बाटिका वृद्धाश्रममा बस्ने योजना उनको रहेको छ ।
मन्सुर निख्रिँदै गएको नेपाली कांग्रेसको जोगी पुस्ताका अन्तिम कडीमध्ये एक हुन्, जसका लागि राजनीति त्याग, समर्पण र उत्सर्ग सबै हो ।
वि.सं २०११ साल मंसिर २० गते बारा जिल्लाको कलैयामा मुस्लिम समुदाय जन्मिएका मन्सुरले २०२६ सालमा एसएलसी परीक्षा पास गरे । त्यही साल काठमाडौंमा विपिन कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायत १० जनाले नेपाल विद्यार्थी संघ खोलका थिए । नेविसंघको जिल्ला समिति विस्तार अभियान सुरु भयो । मन्सुर र उनका साथीहरूले पनि बारामा नेविसंघको जिल्ला कार्यसमिति बनाए ।
२०२८ सालमा भारतको पटनामा निर्वासित जीवन बिताइरहेका महामानव बिपी कोइरालाको हातबाट कांग्रेसको सदस्यता लिएका मन्सुरसहितको समूहले २०३४ सालमा कांग्रेसको पटना महाधिवेशनबाट पहिलो बारा जिल्ला कार्य समिति बनाए । मन्सुरले उक्त कार्य समितिमा उपसचिवको जिम्मेवारी पाए । २०३६ सालमा उनी कांग्रेसको बारा सचिव भए । २०४८ सालमा जिल्ला सभापति बने । आन्दोलनमा लागेकाले २०३३, २०३६, २०३९ र २०६१ र २०६२ सालमा जेल परे । २०५७ सालमा भएको महाधिवेशनमा पहिलो पटक कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका मन्सुर त्यसपछि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय समितिमा बसेर कार्यसम्पादन गरिरहेका छन् ।
२०५६ सालको संसदीय निर्वाचनमा बारा–३ बाट निर्वाचित मन्सुर २०६४ मा गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा विज्ञान तथा प्रविधि मन्त्री बने । २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा फेरि बारा– ३ बाट उनी निर्वाचित भए ।
मन्सुर अविवाहित छन् । विवाह नगर्नुका बारे मन्सुर यसो भन्छन्, ‘कति बेला मरिन्छ थाहा थिएन । विवाह, घरबार भयो भने जिम्मेवारी हुन्थ्यो । म बारामा भएका हरेक आन्दोलनको अग्रपंक्तिमा हुन्थेँ । बहुदल नआउन्जेल तीनचोटि जेल परेँ । आफ्नै ठेगान नहुने मान्छेले विवाह गरेर किन अरुलाई सास्ती दिनु भनेर गरिएन ।’
कृष्णप्रसाद भट्टराईकी दिदीको घर कलैया थियो । दिदीलाई भेट्न उनी बेलाबेला कलैया गइरहन्थे । त्यहीबेला मन्सुर र भट्टराईको सम्बन्ध पनि प्रगाढ बन्यो । उनलाई भट्टराईको सादगी जिन्दगीले प्रभावित बनायो जसका कारण मन्सुरले वैवाहिक जीवन भन्दा पनि राजनीतिक जीवनलाई बढी महत्व दिए । २०४६ सालमा बहुदल आइसकेपछि उनलाई कसैले मार्ला भन्ने खतरा टर्यो, तर त्यो सँगसगै बिहे गर्नुपर्छ भन्ने सोच र उमेर पनि टरिसकेको थियो । उनले घरजम, परिवारभन्दा देशको सेवा नै बढी सोचे ।
पञ्चायतकै बेला उनले एउटा हिन्दी फिल्ममा बूढाबूढी वृद्धाश्रममा बसेको देखेका थिए । त्यही फिल्मबाट प्रभावित भएर उनको मनमा वृद्धाश्रम बनाउने सोच पलाएको थियो । पछिल्ला केही वर्षदेखि उनी त्यही सोचलाई कार्यान्वयन गरिरहेका छन् ।
‘अरु बृद्धबृद्धा पनि राख्छु अनि आफू पनि बूढो भएपछि त्यही बस्छु,’ उनले भने । अहिले बाराको जितपुर सिमरा उपमहानगरपालिका– ७ मा साढे आठ कठ्ठा जमिनमा उनले सन्जिवनी वाटिका वृद्धाश्रम बनाएका छन् । ‘अर्को वर्षदेखि त्यहाँ वृद्धबृद्धा राख्छु, नसकेका दिनदेखि आफू पनि त्यहीँ गएर बस्छु,’ मन्त्री मन्सुरले भने, ‘यत्ति गर्नलाई किन चाहियो सम्पत्ति?
उनलाई लाग्छ, कांग्रेसमा अहिले दुई पुस्ताका मानिस छन् । पहिलो, २०४६ सालभन्दा अघिको, जो म बरु मरे मर्छु तर कांग्रेस अघि बढाउँछु भनेर लागेको । दोस्रो, २०४६ पछिको पुस्ता ‘जसमा धेरैजसो केही पाउँछु कि भनेर कांग्रेसमा आएकाहरु’ छन् ।
२०४६ सालअघिको पुस्ताका प्रतिनिधि पात्र हुन्, मन्सुर । घरमा उनी माइला छोरा हुन् । दुई दाजुभाइ गृहस्थी जीवनमा छन् । मन्सुरले भने आफूले अंशमा पाएको बाबुको सम्पत्ति पनि राजनीतिका लागि खर्च गरिसकें । ‘एक त तँ एक्लै छस् किन धेरै सम्पत्ति चाहियो भनेर दाइभाइले मलाई कम सम्पत्ति दिए,’ मन्सुरले हाँस्दै भने, ‘त्यही कम जग्गा पनि मैले केही चुनाव लड्दा बेचेँ केही भाइले घर बनाउन लाग्दा बेचिदिएँ ।’ अहिले सांसद वा मन्त्री हुनु आफ्नो पुस्ताका लागि बोनस जिन्दगी भएको मन्सुरले बताए । ‘हामी त अहिले जे छौं त्यो बोनस पाएको जीवन हो,’ उनले भने, ‘जतिबेला कांग्रेसमा लागेका थियौं सांसद, मन्त्री भइएला भन्ने आश थिएन बरु ज्यान जाला भन्ने शंका थियो ।’
‘हामीले दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम संविधानमा समावेशीता र समानुपातिक प्रतिनिधित्वको कुरा लेखेका थियौं,’ मन्सुरले भने, ‘तर २०१५ सालमा बिपीले बनाएको मन्त्रिमण्डल तपाईंले हेर्नुभयो भने त्यो कस्तो समावेशी थियो । त्यतिबेला संविधानमा लेखिएको थिएन तर व्यवहारमा समावेशीता थियो ।’
उनको बुझाइमा एकातिर मधेसी जनतामा राणा शासनदेखि नै आफूहरुलाई राज्यले विभेद गरेको र लोकतन्त्र आएपछि आफू पनि बराबर हुनुपर्ने भावना छ । अर्कातिर केही नेताले मधेसी जनताको त्यही भावनालाई आफ्नो क्षणिक स्वार्थपूर्तिको माध्यम बनाउन खोजेकाले समस्या जेलिएको हो ।
बहुजाति, बहुभाषा, बहुधार्मिक देश भए पनि परापूर्वकालदेखि नेपालमा जातीय र धार्मिक सद्भाव छ, एकता छ । पछिल्लो समय त्यो एकतामा केही समस्या देखिएका छन् । संविधान जारी भएपछि त्यो समस्या झन् बल्झेको छ । मन्सुरलाई लाग्छ – बल्झेको एकता सुल्झाउने माध्यम नै संविधानको कार्यान्वयन हो, र त्यसका लागि नेपाली कांग्रेसको विजय नै उत्तम विकल्प हो ।
‘बिपीले सुरु गरेको समावेशीताको कुरामा कांग्रेस अहिले पनि लागेको छ,’ मन्सुरले भने, ‘तर यहाँ केहीको पहाडे राष्ट्रवाद र केहीको मधेसी राष्ट्रवादले समस्या बढाएको छ । ती दुईका बीचमा हामीलाई नेपाली राष्ट्रवाद चाहिन्छ, त्यही नेपाली राष्ट्रवादले नेपाललाई एक बनाउँछ ।’
अहिले मन्सुर यही मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा बारा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका छन् । आफ्नो राजनीति इमान्दारिता र निष्ठा नै जितको आधार भएको बताउने मन्सुरले श्रममन्त्रीमा बहाल रहँदा गरेका विभिन्न जनपक्षीय निर्णयले पनि उनको जित सुनश्चित देखिएको छ ।