fbpx




हरारे, मंसिर ५ (बिबिसी)– जिम्बावेका राष्ट्रपति रोबर्ट मुगावेले पदबाट राजीनामा दिएका छन् ।

‘राष्ट्रपति मुगावेले पदबाट राजीनामा दिएका छन्,’ जिम्बावे संसद्का सभामुख ज्याकोव मुडेन्डालाई उल्लेख गर्दै बिबिसीले जनाएको छ ।

राजीनामा दिएको बारे राष्ट्रपति मुगावेले जारी गरको पत्रमा आफूले स्वेच्छाले जिम्बावेको राष्ट्र प्रमुखको पदबाट राजीनामा दिएको विषय उल्लेख गरको समाचार एजेन्सी रोयर्टसलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ ।
सोमबारसम्म राजीनामा दिन सत्तारुढ दलले दिएको समयसीमा भित्र राजीनामा नदिएपछि देशको दुवै सदनले उनीमाथि महाभियोगको तयारी गरिहेका बेला मुगावेले पदबाट दिएको राजीनामाले सबैलाई अचम्मित बनाएको बिबिसीले जनाएको छ ।

सत्तारुढ जानु–पिएफ दलले सोमबारसम्ममा राष्ट्रपति पदबाट राजीनामा दिन वा महाभियोगको सामना गर्न आइतबार चेतावनी दिएपनि सोही दिन नै मुगावेले टेलिभिजन सम्बोधन गर्दै आफू आसन्न पार्टी महाधिवेशनको म्यानडेट अनुसार चल्ने र राजीनामा नदिने बताएका थिए । गत साता देशको शक्ति सरकारी सेनाले हातमा लिएपछि घरमै नजरबन्दमा रहेका मुगावेमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको थियो । उनको राजीनामाको माग गर्दै हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले राजधानी हरोरसहितका सहरमा शनिबार प्रदर्शन गरेका थिए भने उनकै नेतृत्वमा रहेको सत्तारुढ जानु–पिएफले पनि उनलाई राजीनामा दिन माग गर्दै दलबाट वर्खास्त गरेको थियो । बेलायती उपनिवेशबाट सन् १९८० मा जिम्बावे स्वतन्त्र भएदेखि नै मुगावे देशको शक्तिमा रहिरहेका थिए ।

रोबर्ट मुगावेले जिम्बावेको भावी राष्ट्रपतिका दावेदार रहेका स्वतन्त्रता संग्रामका अभियन्ता एवं उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई पदबाट हटाएर आफू भन्दा करिब ४० वर्ष कान्छी श्रीमती ग्रेस मुगावेलाई अगाडि सारेपछि सेना असन्तुष्ट रहँदै सरकारमाथि हस्तक्षेप गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू