fbpx




हरारे, मंसिर ६ (बिबिसी)-जिम्बावेका राष्ट्रपति रोबर्ट मुगावेले मंगलबार पदबाट राजीनामा दिएपछि रातभर खुसीयाली मनाइएको छ ।

३७ वर्षसम्म निरन्तर रुपमा जिम्बावेको शक्ति आफ्नो हातमा लिएका मुगावेविरुद्ध महाभियोगको तयारी हुँदै गर्दा मंगलबार उनले राजीनामा दिएका थिए । कुनै बेला भगवानले मात्रै पदबाट हटाउन सक्ने भनिएका मुगावेको राजीनामा आएसँगै देशको राजधानी हरारेसहितका सहरमा हजारौं जिम्बावेली नागरिक सडकमा आएर खुसीयाली मनाएको बिबिसीले जनाएको छ । मुगावले राजीनामा दिएपछि जिम्बावेको राजनीति केही सुधारतर्फ लाग्ने संकेत मिलेको बिबिसीले उल्लेख गरेको छ । मुगावेको राजीनामा सँगै दक्षिण अफ्रिकामा निर्वासित जीवन बिताइरहेका पूर्व उपराष्ट्रपति एमरसन म्याङनावा जिम्बावे फर्कने अनुमान गरिएको छ । उनी जिम्बावे फर्के लगत्तै उनलाई केही घण्टाभित्र देशको राष्ट्रपति पदमा नियुक्त गरिने तयारी भइरहेको बिबिसीले जनाएको छ ।

मुगावेको राजीनामा अप्रत्याशित रुपमा आएको थियो । सत्तारुढ पिएफ जानु दलले पार्टीको नेतृत्वबाट हटाउँदै सोमबारसम्मको समयसीमा भित्र राष्ट्रपति पदबाट राजीनामा दिन भनेपनि मुगावले सोही दिन नै टेलिभिजन सम्बोधनमार्फत पार्टीको आसन्न महाधिवेशनसम्म पदबाट राजीनामा नदिने संकेत गरेका थिए । उनको राजीनामा पत्र संसद्का सभामुखले पढेर सुनाउँदा सबै अचम्ममा परेका थिए ।
सभामुखलाई प्राप्त भएको र उनले वाचन गरेको मुगावेको पत्रमा जन दबाब, सेनाको हस्तक्षेप र पार्टीले दिएको निर्देशनका कारण नभई देशको शक्ति सजिलो तरिकाले हस्तान्तरण होस् भनेर राजीनामा दिएको लेखिएको थियो । उनले आफूले स्वेच्छाले राष्ट्रपति पदबाट राजीनामा दिएको पनि सो पत्रमा उल्लेख गरेको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा आएसँगै उनीविरुद्ध ल्याउन लागिएको महाभियोगका प्रस्ताव रोकिएको छ ।

‘म धेरै खुसी छु’
मुगावेको राजीनामा आएसँगै जिम्बावेको सत्तारुढ र विपक्षी दुवै दलमा खुसीको सञ्चार भएको छ । उनको राजीनामाको पत्र सभामुखले वाचन गर्ने बित्तिकै हजारौं नागरिक सडकमा उत्रिएर नाँच्दै, गाउँदै, गाडीको हर्न बजाउँदै र झण्डा फह¥याउँदै खुसीयाली मनाएका थिए ।

‘म एकदमै खुसी छु र एकदमै उत्सुकता महसुस गरिरहेको छु । यो हाम्रो देशका लागि सबैभन्दा ठूलो क्षण हो,’ जुलिएन टुकुड्जीलाई उल्लेख गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।
बिबिसीसँग मुगावेको राजीनामाको खुसी साट्ने क्रममा अधिकारवादी एवं राजनीतिज्ञ भिम्बाइसे मुस्भाबुरीको आँखाबाट आँशु आएका थिए ।
‘हामी यी मान्छेबाट वाक्कदिक्क नै भइसकेका थियौं । अब तिनी गए, हामी धेरै खुसी भएका छौं । हामी उनलाई अब फेरि हेर्न चाहन्नौं र आज विजयको दिन हो,’ उनले बताइन् ।

जिम्बावेको नयाँ राष्ट्रपति
जिम्बावेको सत्तारुढ जानु–पिएफका अनुसार उपराष्ट्रपति एमरसन म्याङनावा अब नयाँ राष्ट्रपति बन्ने छन् । जिम्बावेको भावी नेतृत्वको दाबेदार रहेका म्याङनावालाई हटाएर ९३ वर्षे मुगावले आफू भन्दा करिब ४० वर्षे कान्छी श्रीमती ग्रेस मुगावेलाई अगाडि सारेपछि जिम्बावेका राजनीति तरलतातर्फ अगाडि बढेको थियो ।

तपाईंको प्रतिकृयाहरू