fbpx




काठमाडौं, मंसिर ७ (नेपालनीति)– संविधान सभाबाट संविधान जारी भएको करिब दुई वर्ष दुई महिनापछि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर कै निर्वाचन क्षेत्रमध्ये चर्चित क्षेत्र हो काठमाडौं निर्वाचन क्षेत्र नम्बर चार । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता एंव पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापा र परराष्ट्र मामिलाका जानकार एवं नेपाल भारत प्रबुद्ध समूहका सदस्य रहेका नेकपा एमालेका राजन भट्टराई चुनावी मैदानमा रहेका कारण देशभरमै चुनावी चासोमा रहेको क्षत्रे हो काठमाडौं चार । यसो त यो क्षेत्र २०७० को निर्वाचनमा पनि चर्चित नै थियो । कारण थियो, वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन र गगन थापाको उम्मेदवारी । उक्त निर्वाचनमा पुन तेस्रो स्थानमा आएका थिए भने जित गगन थापाको भएको थियो, त्यो पनि निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार निर्मल कुइकेंलको भन्दा लगभग १३ हजार मत बढी ल्याएर ।

अहिले परिस्थिति बदलिएको छ । २०७० देखि २०७४ सम्म काठमाडौं चारको प्रत्यक्ष निर्वाचित सांसदका रुपमा गगन थापाले कार्यकाल विताइसकेका छन् । यसो त उनी त्यो भन्दा अघि २०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा पनि काठमाडौं चारकै समानुपातिक सभासद थिए । सांसद निर्वाचित भएको चार वर्षमा उनी नेपाल सरकारको स्वास्थ्य मन्त्री र संसदको जलस्रोत तथा कृषि समितिको सभापति पनि बने । मन्त्री रहँदा स्वास्थ्यसम्बन्धी देखिने खालका केही सुधारको कार्य गरेका गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा भने त्यति ध्यान नदिएको स्थानीयले गुनासो गरिरहेका छन् ।

गगन थापा जस्तो देशले नै विश्वास गरेको नेतालाई जिताएर पठाउँदा पनि सडकलगायतका भौतिक पूर्वाधारको समस्यामा खासै परिवर्तन नभएको एक मतदाताले नेपालनीतिसँग गुनासो गरे । गगन थापा जनताको यस्तो प्रकृतिका गुनासोलाई विरोधी पार्टीको हुइँया मात्रै भएको बताउँछन् । देशभरकै निर्वाचन क्षेत्रमध्ये आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी बजेट ल्याएको दावी गर्ने थापा ठेकेदारको कारण कपनलगायतका क्षेत्रका सडक निर्माणमा ढिलाइ भइरहेको बताउँछन् । २०७० को निर्वाचनमा जस्तो गगन ‘अन्टेस्टेड’ पक्कै हैनन् । उनलाई काठमाडौं चारका मतदाताले एक पटक समानुपातिक र अर्को पटक प्रत्यक्ष निर्वाचित सांसदका रुपमा ‘टेस्ट’ गरिसकेका छन् । मतदाताको अपेक्षाअनुसार उनले काम गर्न नसकेको गुनासोका बीच उनी अहिले फेरि प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । २०७० को जस्तो उनको व्यक्तिगत क्रेज घटेको पक्कै छ । त्यसैले पनि गगन थापा यसपालिको निर्वाचमा आत्तिएका छन् । उनी आत्तिनुका विशेषतः दुई प्रमुख कारण रहेका छन् । एक जनताको विकासको इच्छालाई चार वर्ष सांसद रहँदा देखिने गरि कार्य गर्न नसक्नु र अर्को, स्थानीय निकायको निर्वाचनमा उनको दल नेपाली कांग्रेसले बूढानीलकण्ठ नगरपालिकामा लज्जास्पद हार बेहोर्नु । यी बाहेक सबै भन्दा धेरै मतदाता रहेको बुढानीलकण्ठ क्षेत्र पर्ने प्रदेश ‘ख’ को उम्मेदवारको ‘लो’ प्रोफाइलका कारण पनि उनी आत्तिएको जानकारहरु बताउँछन् । कपन क्षेत्रका कांग्रेसी नेता समानुपातिकसम्म पनि नपर्नुले गगन थापाप्रति कपनका पुराना काँग्रेसी रुष्ट भएका छन् । यसो त गगन थापालाई पुराना कांग्रेसीलाई सम्मान गर्न नजान्ने नेताका रुपमा यसअघि पनि चित्रण गरिन्थ्यो । यस पटक उनले त्यो भ्रम चिर्नका लागि पुराना कांग्रेसी नेता, नरोत्तम वैद्य र साधुराम खड्कालाई क्रमशः प्रदेश ‘क’ र ‘ख’ उम्मेदवारका रुपमा अगाडि ल्याएपनि सबैभन्दा धेरै मतदाता रहेको कपन क्षेत्रका कांग्रेसी नअटाउनुले उनी कपन क्षेत्रको घरदैलो अभियानमा बढी केन्द्रीत भएको देख्न सकिन्छ । गगन थापा बिहान ५ बजेदेखि र बेलुकी ११–१२ बजेसम्म नै कपनलाई नै केन्द्रीत बनाएर घरदैलो अभियानमा सरिक भइरहनुपनि उनको आत्तिएको मनस्थितिको उपज भएको मान्न सकिन्छ । गगन थापाले चुनाव जित्छन्? भन्ने नेपालीनीतिको प्रश्नमा एक स्थानीय कांग्रेसी नेताले २०७० को जस्तो नभएपनि तीन देखि पाँँच हजारको मतान्तरमा थापाले चुनाव जित्ने दावी गरे । उनले प्रदेश सभाको निर्वाचनमा भने प्रदेश ‘क’ मा पक्का जित भएपनि प्रदेश ‘ख’ मा मिहिनतको जरुरी रहेको र त्यो भइरहको बताए ।

उता, मन्त्रिपरिषदको मनोनित कोटाबाट २०७१ सालमा सभासद भएका राजन भट्टराई नेकपा एमालेको तर्फबाट संयुक्त वाम गठबन्धनको उम्मेदवार रहेका छन् । स्थानीय निकायमा पार्टीले ल्याएको मत, वाम गठबन्धनको मत र सिन्धुपाल्चोकवासीको मतले उनले निर्वाचन जित्ने नेकपा एमाले क्षेत्र नम्बर चारका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा नेपालनीतिलाई बताए ।

निर्वाचन क्षेत्र चार अन्तर्गत महानगरका वडाबाट भट्टराईले चार हजार मतान्तरले लिड गर्ने सम्भावना बलियो भएको हुँदा जित सहज हुने उनले बताए । जसरी गगन थापा निर्वाचनको मतपरिणामलाई लिएर आत्तिएका छन्, राजन भट्टराई भने अल्मलिएका छन् । उनको चुनावी अभियान र घरदैलोले गति लिन नसकेको अर्का एक स्थानीय नेताले बताए । स्थानीय तहको निर्वाचनमा जस्तो पार्टी उठ्नै नसकेको एमालेबाट जनप्रतिनिधि जितेका एक सदस्यले बताए । एमालेका कतिपय कार्यकर्ता वाम गठबन्धनका कारण चुनावी परिचालन अलमलमा परेको बताउँछन् । माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेदवार नपाएको यस क्षेत्रको रोचक विषय भनेको यहाँको निर्वाचन परिचालन र युवा परिचालन कमिटी नै माओवादीको भागमा परेको छ । जसका कारण गठबन्धन अलमलमा परेको छ र घरदैलो अभियानपनि रनभुल्लमा परको छ । माओवादी नेताको चुनावी परिचालनमा देखिएको अपरिपक्वताका कारण भट्टराईको चुनावी अभियानले गति लिन नसकेको र यसको फाइदा गगन थापाले उठाइरहेको एमाले अर्का एक स्थानीय नेताले बताए ।

‘वाम गठबन्धनका तर्फबाट प्रदेश ‘क’ मा निर्मल कुइकेंल र प्रदेश ‘ख’ मा कुसुमकुमार कार्की उम्मेदवार रहनुपनि भट्टराईको कम्बिनेशन मिलेको छ,’ यो नै जितको आधार हो, अर्का एमाले नेताले बताए । उनले राजन भट्टराईको घर भएको क्षेत्र काठमाडौं ७ मा उनको अवस्था राम्रो भएको, स्थानीय निकायको मतपरिणाम र बौद्धिक सर्कलको साथ नै भट्टराईको जितको आधार भएको बताए । उनले निर्वाचन परिचालन कमिटीमा सदस्य छनौट राम्रोसँग हुन नसक्नु र भर्खरै मात्रै स्थानीय निकायको निर्वाचनबाट जितेको जनप्रतिनिधिलाई बिकाउन नसकेकै कारण पार्टीको घरदैलो उठ्न नसकेको बताए । यो समस्याका बारेमा घनिभूत छलफल चलिरहेको र केही सुस्तता देखिएपनि वाम गठबन्धनको जित सुनिश्चत रहेको पनि बताए । नेपाली कांग्रेस र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवारका कार्यकर्ताले आफ्नो पक्षमा जित भएको दावी गरेपनि काठमाडौं क्षेत्र नम्बर चारमा गगन थापा आत्तिएको र राजन भट्टराई अल्मलिएको भने प्रष्टै देखिन्छ ।

तपाईंको प्रतिकृयाहरू