fbpx




असाम, मंसिर ७ (बिबिसी)– भारतको असाम राज्यका स्वास्थ्यमन्त्रीले क्यान्सर रोग विगतमा गरेको पापका कारण हुने दैविक न्याय भनेपछि भारतभर व्यापक विरोध भएको छ ।

असाम राज्यका स्वास्थ्यमन्त्री हिमान्त विश्व शर्माले बाबुआमाले गरेको पापका कारण मानिसहरुमा क्यान्सर जस्ता रोग लाग्न सक्ने बताएका थिए । क्यान्सर पीडित मानिस तथा उनका आफन्तहरुले मन्त्रीको यस्तो भनाइले आफूहरु अत्यन्तै दुःखी भएको बताएका छन् । स्वास्थ्यमन्त्री शर्माको यस्तो भनाइ आएपछि असाम राज्यका विपक्षी दलहरुले मन्त्रीको यस्तो आपत्तिजनक भनाइलाई दुर्भाग्यपूर्ण भएको आरोप लगाउँदै उनले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग गरेका छन् ।

असाम राज्यको विपक्षी दल ‘अल इन्डिया युनाइटेड डेमोक्र्याटिक फ्रन्टले शर्माले राज्यमा फैलिरहेको क्यान्सर रोग नियन्त्रण गर्न नसकेपछि आफ्नो कमजोरी ढाक्न यस्तो धारणा व्यक्त गरेको आरोप लगाएको छ । स्वास्थ्यमन्त्री शर्माले राज्यको गुहाटीमा बुधबार आयोजना भएको एउटा सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा पापका कारण क्यान्सर लाग्ने बताएका थिए । ‘हामीले पाप गर्यौ भने भगवानले हामीलाई दुःख दिन्छन् । कहिलेकाहीं हामी युवा मानिस पनि क्यान्सरबाट प्रभावित भएको र दुर्घटनामा परेको देख्छौं । तपाईं त्यसको पृष्ठभूमि हेर्नु भयो भने तपाईं थाहा पाउनुहुन्छ कि त्यो दैविक न्याय हो । हामीले पनि त्यस्तो दैविक न्याय भोग्नुपर्ने हुन्छ,’ उनलाई उद्धृत गर्दै ‘द टाइम्स अफ इन्डिया’ ले जनाएको छ ।

मन्त्रीको यस्तो धारणा सार्वजनिक भएसँगै भारतभर सामाजिक सञ्जाल ट्विटरमा उनीविरुद्ध रिस ओगलिएका छन् ।

तपाईंको प्रतिकृयाहरू