fbpx




कलैया, मंसिर ११ (नेपालनीति)– नेपाल सरकारका वर्तमान श्रम तथा रोजगारमन्त्री एवं नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नं. ३ का प्रतिनिधिसभाका उम्मेदवार फरमुल्लाह मंसुरले नेपाली कांग्रेसको नेतृत्वमा मात्रै आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् ।

 

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नं. १८ को बडहर्वामा सम्पर्क कार्यालयको उद्घाटन र वडा नं. १४ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै श्रम मन्त्री मंसुरले कांग्रेस नेतृत्वको सरकारले मुलुकमा नयाँ संविधान ल्याएको बताए । ‘कांग्रेस नेतृत्वको सरकारले जनतामाझ प्रतिबद्धता गरेको नयाँ संविधान ल्याएको छ,’ उनले भने । नयाँ संविधानमा हिमाल, पहाड, तराई–मधेशका मधेसी, जनजाति, दलित, आदिवासी, थारु, मुस्लिम, पिछडिएका वर्गहरुको अधिकार सुनिश्चित गरिएको बताउँदै मंसुरले नयाँ संविधान जारी भएसँगै मुलुकमा विकासतर्फका काम अगाडि बढाउन पनि नेपाली कांग्रेसले जित्नुपर्ने बताए ।

 

मुलुकलाई विकसित राष्ट्रको रुपमा निमार्ण गर्दै आर्थिक उन्नति र समृद्धिको दिशामा लैजानका लागि वाम गठबन्धनलाई चिर्दै नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी बनाउन मतदाताहरुलाई मत दिनसमते उनले आग्रह गरे । नेपाली कांग्रेसको पक्षमा जनलहर आईसकेकोले अत्याधिक बहुमत सहित नेपाली कांग्रेसका उम्मेदवारहरुलाई नेपाली जनताहरुले विजयी गराउने मन्त्री मंसुरले विश्वास व्यक्त गरे । क्षेत्र नं. ३ को प्रदेशसभा १ का नेपाली कांग्रेसका उम्मेदवार रामानन्द यादवले देशको भलो नेपाली कांग्रेसले मात्र चाहेको बताए । उनले नेपाली कांग्रेसले नयाँ संविधान ल्याएर सबै जात–जातीको अधिकारलाई सुनिश्चित गरेको बताउँदै मुलुकलाई समद्धि बनाउनका लागि कांग्रेसलाई मत दिन आग्रह गरे । घरदैलो कार्यक्रममा पूर्व सांसद मधुशाही ठकुरीले लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी बनाउन आग्रह गरिन ।

तपाईंको प्रतिकृयाहरू