fbpx




लन्डन, मंसिर ११ (बिबिसी)– बेलायतका राजकुमार ह्यारीले आफ्नी प्रेमिका अमेरिकी अभिनेत्री मेगन मार्केलसँग आउँदो वर्ष विवाह गर्ने भएका छन् ।

बेलायतको राजगद्दीको उत्तराधिकारीको रोलक्रममा पाँचौ नम्बरमा रहेका राजकुमार ह्यारीले सन् २०१८ को वसन्त याममा आफ्नी प्रेमिका मार्केलसगँ विवाह गर्ने र विवाहपछि दुवै जना बेलायतको राजधानी लन्डनस्थित केन्जिङ्टन दरबारको नोटिङ्घम कटेजमा बस्ने बिबिसीले जनाएको छ । सन् २०१६ को गर्मीयामबाट प्रेमसम्बन्धमा रहेका ह्यारीको जोडीले यसै महिनाको सुरुवातमा गोप्य रुपमा इन्गेजमेन्ट गरेका थिए । आफ्नो छोराले उनको प्रेमिकासँग विवाह गर्न लागेको विषयले आफूलाई निकै नै रोमाञ्चित बनाएको युवराज चाल्र्सले बताएका छन् । युवराज चाल्र्सले मार्केलले पनि विवाहका लागि उनको अभिभावकबाट आर्शीवाद पाइसकेको बताएका छन् । यसै महिनाको सुरुवातमा गोप्य रुपमा लन्डनमा भएको राजकुमार ह्यारीको इन्गेजमेन्ट बेलायतकी महारानी एलिजावेथ द्वितीय र राजपरिवारका नजिकका सदस्यलाई मात्रै जानकारी रहेको युवराज चाल्र्सलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । राजकुमार ह्यारीको विवाहको मिति भने समय आएपछि सार्वजनिक गरिने वेल्स्का राजकुमारको आधिकारिक निवासस्थानले जारी गरेको घोषणामा बताइएको छ । विवाह गर्ने घोषणा गरेका राजकुमार ह्यारी र मार्केल केन्जिङ्टन दरबार बाहिर सोमबार अपराह्न फोटो सेसन गर्ने बेला देखिएका थिए ।

ह्यारी र मार्केलका लागि आफूहरु खुसी रहेको र उनीहरुको सुखका लागि आर्शिवाद दिएको महारानी र एडेनबर्गका ड्युकले बताएका छन् ।
राजकुमार विलियम र क्याम्ब्रिजकी डचेस क्याथरिनले ह्यारी र मेगनका लागि आफूहरु अत्यन्तै उत्साहित भएको बताएका छन् । ‘ह्यारी र मेगन एक भएकोमा खुसी छौं,’ उनीहरुले बताएका छन् । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले पनि राजकुमार ह्यारी र मेगनलाई न्यानो शुभकामना व्यक्त गर्दै दुवैलाई भविष्यमा खुसी रहिरहन कामना गरेकी छिन् ।

मेगनका बाबु थोमस मार्केल र आमा डोरिया रगल्यान्डले आफ्नी छोरी दयालु र मायालु भएको बताउँदै राजकुमार ह्यारी र आफ्नी छोरी वैवाहिक जीवनमा बाँधिन लागेकोमा अत्यन्तै खुसी भएको बताएका छन् । ‘आफ्नै छोरीको जस्तै स्वभाव भएका राजकुमार ह्यारीसँग आफ्नी छोरीको दाम्पत्य जीवन अघि बढ्न लागेकोमा खुसी भएका छौं,’ उनीहरुले बताएका छन् । ३३ वर्षे राजकुमार ह्यारी र ३६ वर्षे मार्केलले जोडीका रुपमा राजकुमार ह्यारीले घाइते र बिरामी भएका सैनिकका लागि आयोजना गरेको इन्भिक्टस खेलकूदका बेला गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएका थिए । उनीहरुको १६ महिने सम्बन्ध सन् २०१६ को जुलाई महिनाबाट सुरु भएको थियो । उनीहरुबीच साथी–साथीको माध्यमबाट बेलायतको राजधानी लन्डनमा भेट भएको थियो । सञ्चारमाध्यममा मार्केलविरुद्ध दुव्र्यवहारका घटना सार्वजनिक भएपछि राजकुमार ह्यारीले मार्केलसँग रहेको उनको प्रेमसम्बन्धका बारेमा नोभेम्बर २०१६ मा केन्जिङ्टन दरबारबाट वक्तव्य जारी गर्दै जानकारी गराएका थिए ।

 

तपाईंको प्रतिकृयाहरू