fbpx




लन्डन, मंसिर १२ (बिबिसी)– म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीलाई दिइएको ‘फ्रिडम अफ द इङ्लिस सिटी अफ अक्सफर्ड’ सम्मान फिर्ता लिइएको छ ।

सन् १९६० को दशकमा सुकीले त्यहाँ विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन् । स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक रोहिंग्यामाथिको दमनबारे सुकीले कुनै कदम नचालेको आरोप लगाएका छन् । उनीहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन् ।

यसअघि प्रसिद्ध अक्सफर्ड विश्वविद्यालयको सेन्ट ह्युज कलेजले सुकीको तस्वीर कलेजबाट हटाइसकेको छ । संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले मुस्लिम रोहिंग्यामाथि गरेको व्यवहारलाई पाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहार भन्दै आएको छ । तर सुकीले त्यो अस्वीकार गर्दै आएकी छिन् । अगष्ट महिनायता ६ लाखभन्दा बढी रोहिंग्या मुस्लिमहरु म्यानमारबाट भागेर बांग्लादेश पुगेका छन् ।

पछिल्लो समय कतिपयले सुकीलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन् । गत सेप्टेम्बरमा एउटा सम्बोधनका क्रममा उनले मानवअधिकार उल्लंघनको निन्दा गरे पनि देशको सेनामाथि कुनै आरोप लगाइनन् र जातीय सफाया भइरहेको आरोपबारे पनि केही बोलेकी थिइनन् ।

तपाईंको प्रतिकृयाहरू