fbpx




सिमरा, मंसिर १२ (नेपालनीति)– बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले उम्मेदवारको इतिहास हेरेर मतदान गर्न आग्रह गरेका छन् ।

बाराको डुमरवानामा मंगलबार घरदैलो कार्यक्रममा निस्किएका मन्त्री मन्सुरले कोण सभा गरेर आफ्नो ४० बर्षको राजनीतिक इतिहासमा कहीँ कतै नैतिकता र इमान बेचेको कसैले प्रमाणित गरे उम्मेदवारी नै त्याग्ने बताए ।

संविधानप्रति असन्तुष्टि राखेका मधेसी दलहरुपनि संविधानले नै राजनितिक निकास दिने भन्दै निर्वाचनमा होमिएको बताउँदै मन्सुरले अब देशको समृद्ध भविष्यका लागि हाम्रा भन्दा राम्रा उम्मेदवार छनौट गर्न आवश्यक रहेको बताए ।

आफू मन्त्री भएलगत्तै श्रम ऐन पारित, देशको विभिन्न स्थानमा श्रमिक अस्पताल निर्माणको तयारी, वैदेशिक रोजगारीमा जानेहरुका लागी आफ्नै जिल्लामा श्रम स्वीकृतीको व्यवस्था लगायतका काम गरेको बताउँदै उनले राजनीतिमा इमान्दारिता भएको नेतालाई मात्रै मतदान गर्न आग्रह गरे ।

गरिब जनताको पार्टी भनेर जनता झुक्याउने खेलमा अन्य दल लागेर जनताको मतलाई व्यक्तिगत लाभ लिनेहरुसँग सावधान रहन आग्रह गर्दै उनले भोट माग्न आउने उम्मेदवारसँग गरिवका नाममा अहिलेसम्म समुदायमा के के काम भयो भनेर सोध्न आग्रह गरे ।

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका मन्सुरको क्षेत्रका वाम गठबन्धनबाट अध्यानन्द पाण्डे उम्मेदवार बनेका छन् ।

 

तपाईंको प्रतिकृयाहरू