fbpx




तेह्रथुम मंसिर, १३( एजेन्सी) – । मंसिर २१ गते चुनाव हुने प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुममा चुनावी रौनक उत्कर्षमा पुगेको छ । मिति नजिकिँदै जाँदा दलले चुनावी गतिविधि बढाएका हुन् ।
उम्मेदवारले दैनिक चाररपाँच वटासम्म टोलस्तरीय चुनावी सभालाई सम्बोधन गरिरहेका छन् भने चुनावी सभामा शीर्ष नेताको टोली पनि आइपुग्न थालेको छ ।

दलका उम्मेदवार र नेताको घरदैलो पनि शुरु भएको छ । गाउँगाउँमा दलका कार्यकर्ता मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो गरिरहेका छन् । छवटा स्थानीय तह रहेको जिल्लामा ४३ वटा वडा छन् । मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारलाई सबै वडामा एकपटक पुग्न समेत भ्याइनभ्याइ भएको छ ।
प्रदेशसभाका उम्मेदवारले भने घरदैलो गर्नसमेत समय पुर्‍याएका छन् । पहिलो चरणमा चुनाव सम्पन्न भएका जिल्लाका नेता कार्यकर्ता समेत दोस्रो चरणमा हुने चुनावमा खटिन थालेपछि चुनावी माहोल अझै बढेको हो । एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा ११ दलको उम्मेदवारी छ भने प्रदेशसभा–१ मा ९ तथा प्रदेशसभा–२ मा आठ जनाको उम्मेदवारी छ ।
ठूला दलले ठूलै तामझामले प्रचारप्रसार गरिरहेका छन् भने साना दलको सोही किसिमको प्रचारप्रसार चलिरहेको छ । मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारको दैनिक छुट्टाछुट्टै चुनावी सभा भइरहेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम लगायत दलले पनि चुनावी सभा गरिरहेका छन् ।
लोकतान्त्रिक गठबन्धनका लागि नेपाली काँग्रेसकी प्रतिनिधिसभाकी उम्मेदवार भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङले २५ वटा बढी वडामा चुनाव प्रचारप्रसार कार्यक्रम सकेको बताइन् । वाम गठबन्धनका लागि एमाले नेता भवानीप्रसाद खापुङले पनि २५ बढी वडामा पुगेर चुनाव प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिसकेका छन् । प्रतिनिधिसभामा वाम गठबन्धनका खापुङ र लोकतान्त्रिक गठबन्धनकी गुरुङबीच उच्च प्रतिस्पर्धा छ ।
प्रदेशसभामा ९क० निर्वाचन क्षेत्रमा लोकतान्त्रिकका कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगाना र वाठ गठबन्धनका एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी तथा ९ख० क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका विजय सम्बाहाम्फे र वाम गठबन्धनका एमाले पूर्व जिल्ला अध्यक्ष तेजमान कन्दङवाको बीचमा चुनावी प्रतिस्पर्धा छ ।
यी दुई गठबन्धनको क्षेत्रीय आमसभासमेत हुन थालेका छन् । सोमबार सदरमुकाम म्याङलुङमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको उपस्थितिमा लोकतान्त्रिक गठबन्धनले चुनावी सभा गर्यो ।
मंगलबार वाम गठबन्धनले एमाले सचिव योगेश भट्टराई र माओवादी केन्द्रका नेता टंक आङबुहाङको उपस्थितिमा आठराईको संक्रान्तिबजारमा चुनावी सभा गरेको छ । यता लोकतान्त्रिक गठबन्धनले लालीगुराँस नगरपालिकाको दाँगपामा चुनावी सभा गरेको छ ।
बुधबार सदरमुकाम म्याङलुङमा एमाले नेता भट्टराईसहितका नेताले सम्बोधन गर्ने वाम गठबन्धनको सभा छ भने लोकतान्त्रिक गठबन्धनले छथरको शुक्रबारे बजारमा आयोजना हुने चुनावी सभामा वाणिज्यमन्त्री मीन विश्वकर्मासहितका नेता सहभागी हुनुहुने जनाइएको छ ।
अबका बाँकी केही दिनसम्म लोकतान्त्रिक र वाम दुवै गठबन्धनका छुट्टाछुट्टै नगर तथा गाउँपालिका स्तरीय चुनावी आमसभा आयोजना गरिएका छन् । एमाले सचिव भट्टराईले जिल्लाको म्याङलुङ, मेन्छ्यायेम र वसन्तपुरमा हुने सभालाई सम्बोधन गर्ने एमाले जिल्ला उपसचिव भुपतिलाल श्रेष्ठले बताए ।
उनका अनुसार मेन्छ्यायेम गाउँपालिकामा एमाले नेता पृथ्वी सुब्बा गुरुङले सम्बोधन गर्नेछन् । कांग्रेसका नेता भीष्मराज आङ्देम्बे, दीपक खड्कालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव सन्तोष सुब्बाले बताए । दैनिकजसो आमसभा, घरदैलो र चुनाव प्रचारप्रसार कार्यक्रमले जिल्लामा चुनावी रौनक बढाएको हो ।
दलका नेता कार्यकर्तालाई चुनाव प्रचारप्रसारका गतिविधि गर्न भ्याइनभ्याइ भएको छ । कार्यकर्ताको बीचमा प्रचारप्रसारका सामग्री राख्न, आमसभामा मान्छे उतार्न तथा र्याली, भेलामा सहभागीको संख्या ठूलो देखाउन प्रतिस्पर्धा भइरहेको छ । जिल्लाका बजार पार्टीका चुनाव चिह्न अंकित झण्डा, पर्चा र अन्य प्रचार सामग्रीले रंगिएका छन् ।

 

तपाईंको प्रतिकृयाहरू