fbpx




सोल, मंसिर १३ (बिबिसी)– उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाको कुनैपनि ठाउँमा मार हान्न सक्ने नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको बताएको छ ।

उत्तर कोरियाको आणविक हतियारसहितको राज्य बन्ने उद्देश्य पूरा भएको राज्य सञ्चालित टेलिभिजनले दावी गरेको छ । ह्वासङ–१५ नामक उक्त ब्यालेस्टिक क्षेप्यास्त्र जसलाई अत्याधिक शक्तिशाली क्षमताको रहेको भनिएको छ, उक्त क्षेप्यास्त्र बुधबार बिहान सबैरै अध्याँरोमा प्रक्षेपण गरिएको बताइएको छ । यो क्षेप्यास्त्र जापानको समुद्रमा गएर खसेपनि उत्तर कोरियाले हालसम्म गरेको आणविक परीक्षण भन्दा धेरै माथि उडेको थियो ।

प्योङयाङले के दाबी गरिरहेको छ?
बुधबार सबैरै गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणका बारेमा राज्य सञ्चालित टेलिभिजनमा स्थानीय समयअनुसार मध्य दिउँसो एउटा विशेष प्रसारणमार्फत दावी गरिएको छ । टेलिभिजनबाहेक पनि राज्यको समाचार एजेन्सी केसिएनएले पनि बुधबार परीक्षण गरिएको ब्यालेस्टिक क्षेप्यास्त्रले अमेरिकाको कुनैपनि सहरमा मार हान्न सक्ने दावी गरेको बिबिसीले जनाएको छ ।
५३ मिनेटभित्रमा क्षेप्यास्त्र ४ हजार ४ सय ७५ किलोमिटरमाथि सम्म पुगेको र ९ सय ५० किलोमिटर दूरी पार गरेको प्योङयाङले जनाएको छ । यो क्षेप्यास्त्र पहिले पहिलेको जस्तो जापानी आकास हुँदै नउडेको र जापानको उत्तरी तटबाट करिब २ सय ५० किलोमिटर पर खसेको जापानी अधिकारीलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ ।
उत्तर कोरियाले यस अघि पनि उसको क्षेप्यास्त्रले अमेरिकी भूमिसम्म मार हान्न सक्ने बताउँदै आएपनि बुधबार बिहान गरिएको नयाँ प्रकारको क्षेप्यास्त्रबाट परीक्षणबाट भने उसले अब अमेरिकासम्म मार हान्न सक्ने विज्ञहरुले बताएका छन् । बुधबार परीक्षण गरिएको क्षेप्यास्त्र उसले पहिले पहिले परीक्षण गर्ने गरेको क्षेप्यास्त्रको सुधारिएको रुप भएको बताइएको छ ।
राज्यको सरकारी समाचार एजेन्सी केसिएनएले थप्दै भनेको छ की उसको सर्वोच्च नेता किम जोङ उन जसले क्षेप्यास्त्र परीक्षण गर्नका लागि हस्ताक्षर गरो थिए उनले गर्वका साथ अब राज्यलाई आणविक शक्ति सम्पन्न राष्ट्र बनाउने ऐतिहासिक कारणको महसुस गरेको घोषणा गरेको बताएका छन् ।
केसिएनएले जारी गरको विवरणमा भनिएको छ, जिम्मेवार आणविक शक्ति सम्पन्न र शान्ति चाहने देश उत्तर कोरियाले विश्वमा शान्ति र स्थायीत्वका लागि आवश्यक पर्ने सबै सम्भावित प्रयास गर्ने बताइएको छ । उसले आफ्नो आणविक हतियार अमेरिकी साम्राज्यवाद र आणविक ब्लयाकमेलका विरुद्धमा भएको बताएको छ । अब अमेरिकाको यस्तो नीति काम नलाग्ने पनि उसले चेतावनी दिएको छ । ‘यो हाम्रो विधिसम्मत घोषणा हो,’ प्योङयाङले बताएको छ ।

उत्तरको क्षेप्यास्त्र अमेरिका पुग्नसक्छ?
अमेरिका आधारित ‘यूनियन अफ कन्सर्नड साइन्टिस्ट’ ले गरेको विश्लेषणका आधारमा उत्तर कोरियाले बुधबार परीक्षण गरेको क्षेप्यास्त्रले १३ हजार भन्दा बढी किलोमिटर पार गरेको र यदि त्यो क्षेप्यास्त्रको वास्तविक क्षमता यति नै हो भने, अमेरिकाको कुनै पनि भागमा उक्त क्षेप्यास्त्र पुग्नसक्छ । उक्त संस्थाका अनुसार उक्त क्षेप्यास्त्रसँग अत्यन्तै हलुको आणविक हतियार बोक्न सक्छ, जसको मतलव यसले आणविक हतियार बोक्न सक्दैन, किनभने लामो दूरी रहेको छ ।
उत्तर कोरियाले भने ह्वासङ–१५ अमेरिकाको मुख्यभूमिसम्म पुग्न सक्ने बताउँदै ‘सुपर–ठूलो विशाल युद्ध सामाग्री’ बोक्न सक्ने बताएको छ ।
विश्वले कसरी प्रतिक्रिया जनाइरहेको छ?
उत्तर कोरियाले बुधबार सबेरै गरेको आणविक परीक्षणको विश्वव्यापी निन्दा भएको छ । प्योङयाङको पछिल्लो कमदको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकको आह्वान गरिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुर्टेरेसले उत्तर कोरियाले आणविक क्षेप्यास्त्र परीक्षणले नाकाबन्दीलाई अवमूल्यन गरेको र अन्तर्राष्ट्रिय समुदायको विचारलाई लत्याएको बताएका छन् । अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले उत्तर कोरियाले विश्वव्यापी चुनौति थपेको बताएका छन् ।
उत्तर कोरियाको क्षेप्यास्त्र आकाशमै रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यस बारेमा जानकारी गराइएको र प्रतिउत्तरमा उनले यसलाई नियन्त्रण गर्ने बताए । जापान र दक्षिण कोरियाले पनि उत्तर कोरियाको यस कदमको निन्दा गरेको बिबिसीले उल्लेख गरको छ ।

 

तपाईंको प्रतिकृयाहरू