fbpx




नबिन मरासिनी

दशैंमा स्कुलको होमवर्क बाहेक सबै रमाइलो लाग्थ्यो मलाई सानो छँदा/ जता गए पनि मलाई त्यहि होमवोर्कले सताउथ्यो, होमवर्क सकेर रमाउन पर्छ भन्ने मान्यता राख्थे पहिल्यै देखि तर होमवर्क जहिले पनि स्कुल खुल्नु भन्दा एक/दुइ दिन अघि मात्र गरिन्थ्यो/ अरु समय त निस्फिक्री , घुम्ने, खेल्ने र रमाउने / निलो आकाश, घमाईला दिनहरु, न जाडो , न गर्मि, जता गए पनि,  जहाँ घुमे पनि निस्फिक्री र आनन्द थियो / बारीका कालनाहरुमा कुद्दै खन्यु, नासपाती, अम्बा/ बेलौती, , भुटुक र बिडुलाका रुखहरु चहारेर पेट भर्दाका ति क्षणहरु अहिलेका बच्चाले कहाबाट पाउलान र ? लुकी लुकी खेल्ने खोपी, डन्डीबियो ,राज्य, चिट्ठा, लुडो,  गुडाउने पाइप, पिङ्ग आदिले  भरेको थियो हाम्रो उसबेलाको दशैँ/ अनि पो बल्ल दशैँ आउनुको मज्जा हुन्थ्यो।

दशैंको बेलामा स्कुल पोत्न भनेर सबै बिद्यार्थी कमेरो लिन जादाका क्षणहरु, सबैले मिलेर कक्षाकोठा लिपेका पलहरुले  नशा- नशामा भरि दिन्थ्यो दशैको उमङ्ग/ स्कुल वरिपरिका बाटाहरु परसम्म सफा गर्थयौ, घरसम्म आउने बाटाहरु पनि छिमेकीहरु मिलेर सफा गर्थयौ/ घर लिप्थ्यौ कमेरो माटोले,  रातो माटोले, अनि सबै भन्दा तल्लो भाग बेट्रिको धुलोको कालो रंगले/  सबैका घर पोतिन्थे, सफा सुघ्घर गराईन्थे, जता गए पनि दशैको रौनक नै अर्कै हुन्थ्यो/ त्यसबेला आउने दशैँ कहिल्यै एक्लै आएन, उसलाई स्वागत गर्न गाउँ भरि बाटाहरु सफा गरिन्थे, लाहुरेहरु भरिया कसेर टेपरीकर्ड घन्काउदै आउथे,  नया नया लुगामा सजिएर कोट / मन्दिरमा जानेहरुको घुइचो हुन्थ्यो, पन्चवली दिनेहरु, भाकल गर्नेहरु दशैमा जहाँ भए पनि घर आइपुग्थे /अनि पो बल्ल दशैँ  आउँथ्यो।

ति दशैहरु साच्चिकै दशैँहरु थिए, नँया कपडा लगाउने , मिठो खाने , रमाइलो गर्ने , मावल जाने , दक्षिणा जम्मा गर्ने / जम्मा गरेको  पैसाले गुलेली किन्ने हो कि , रबर को चुंगी किन्ने हो कि, गुच्चा किन्ने हो कि?  खुत्रुकेमा खसाल्ने हो कि ? कुनै नोट पुरानो भए कुन जुक्तिले नया संग साट्ने होला?, आफु भन्दा ठुलालालाई गन्न दिने होकी ? गन्दा गन्दै फेरी कतै पैसै हराउने पो हो कि ? के के हो के के ? नँया कमिज र पैन्ट लगाएर छिमेकी साथीहरुलाई देखाउन गएको हिजो जस्तो लाग्छ, तर समयले कहाँ पुर्याई सक्यो हामीलाई / सम्झिदा पनि ति बाल्यकालका कुराहरु कति हर्षित हुन्छ यो मन!

आजकल आउने दशैँ त कति निरश छ, न उमग छ, न जोश नै/ मात्र सनातन प्रक्रिया जस्तो लाग्छ/ मन भरि एउटा अत्यासको हुरी बोकेर आउछ  दशैँ आजकल / एउटा मात्र चिन्ता छ/ यो दशैँ भरमा अब कति जना संग ठगिनु छ, जानी जानी कति जनाले आफ्नै  अगाडी आफैलाई  उल्लु बनाउने हुन्!  घर जाने/ आउने  बसको टिकट किन्दा होस् या समान किन्दा कति ठग्ने हुन्!  आफु त निरिह बनेर सहनुको विकल्प हुदैन/  मन भरि आफु ठगिएका अनगिन्ती  पिडा बोकेर दशैमा घर जानु पर्छ , अनि त्यहि पिडा बोकेर घर पुगेर  फेरी यहाँ कसरि आइपुग्ने होला भने चिन्ताले नै दशैँको आधा खुसि खोसिदिन्छ आजकल / आजकालको दशैमा त अभाबै अभाब छ, पैसाको अभाब , जेनतेन पैसा जुट्यायो, किन्न चाहेको बस्तुको अभाब, अनि अभाबमै यता उति गरेर किन्यो, किने पछि आउने आनन्दको पनि अभाब /

अहिलेका दशैँ पहिलेका दशैँ जस्तो रमाइला लाग्दैनन् / के बदलिएको हो कुन्नि ? दशैँ बदलिएको हो कि ? हामी बदलिएका हौ कि ? या समय नै ? तलबको परिमाण बढ्यो, किनिने बस्तुको परिमाण बढ्यो, खर्चको परिमाण बढ्यो दशैमा तर  खुसी र रमाइलोको परिमाण  बढ्न सकेन ! खोइ किन हो कुन्नि  ? किन किन यो मनले उनै पुराना दशैँ खोज्छ! जमरा कसरि पहेला हुन्छन भन्दै दङ्ग परेको, दशैको दुइज हेर्न पर्छ भन्दै डाडातिर गएको, काल रात्रीको पूजा गरेको, अनि नवमीका दिन  नया कपडा  र नया जुत्ता लगाएर कोट/मन्दिर गएका दिनहरु यो मानष पटलमा कहिलयै नपुरिने गरि कुदिएका छन् / आफु भन्दा ठुलाहरू बाट भनिने देवी भगबतीका  कथाहरु, शुम्भ /निशुम्भका कथाहरुले दशैलाई अर्कै थ्रिलर मुभी जस्तै बनाईदिन्थ्यो/ बिशेष बाजागाजा सहित  ठुला ठुला तरवारहरुको कौशल पूर्ण  सरागे नाचले बाल मस्तिस्कमा अलौकिक झंकार दिन्थ्यो/ दशैमा टिका लगाउदा पाइने आशिर्वाद साची नै पुरा हुन्छन जस्तो लाग्थ्यो/ कस्तो अलौकिक आनन्दमय थियो उसबेलाको दशैँ ! आजकल पनि दशैँ उस्तै छ, सनातन परम्परा उस्तै छ, पारिवारिक जमघट पनि उस्तै छ , टिका जमरा पनि उस्तै छ, नया लगाउने र मिठो खाने भन्ने चलन पनि उस्तै छ,  मात्र छैन त्यस बेलाको जस्तो थ्रिलर, त्यस बेलाको जस्तो रमाइलो, आनन्द र खुशी !

दशैँ भन्ने बितिकै जुनिअर क्लासहरुमा पढेका यी कबिता र  वाक्याम्श याद आउछन मेरो मनमा,  सायद तपाईहरु धेरैलाई पनि!
“हट्यो सारा हिलो मैलो,
हरायो  पानीको वर्षा,
……………………….
……………………….
जता जाऊ उतै भन्छन
दशैँ आयो दशैँ आयो !”
अनि
‘च-चहुइ,  च-चहुइ’

के आउने दशैंले ति बिगतका दिनहरुको जस्तै खुशी ल्याउला?

तपाईंको प्रतिकृयाहरू