fbpx




पोखरा, मंसिर १४ (नेपालनीति) – नेपाली काँग्रेसका नेता एवं कास्की क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार शुक्रराज शर्माले आफूहरूले घूस नखाने र कसैलाई घूस खान नदिइने बताएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका– २५ स्थित पीपलडाली समाजद्वारा आज आयोजित कार्यक्रममा उनले समाजमा सुशासन कायम गराउँदै विकास र समृद्धिका काममा पार्टीले अगुवाइ गर्ने बताएका छन् ।

जनताको उन्नत एवं समान आर्थिकस्तर कायम गराउने पार्टीको नीति रहेको बताउँदै उनले सुकुम्बासीलाई भूमिको मालिक बनाउने काँग्रेसको लक्ष्य रहेको उल्लेख गरेका छन् ।

काँग्रेसबाट कास्की क्षेत्र नं ३ प्रदेश(क) का उम्मेदवार शारदा पौडेलले पीपलडाली र आसपासका क्षेत्रको बाटोघाटो, खानेपानीको समस्याका साथै सुकुम्वासीका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।

पीपलडाली समाजका अध्यक्ष हुमवीर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, समाजका सचिव आशबहादुर गुरुङ, शिव तिमल्सिनालगायतले समाजको समृद्धि र विकासका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू