fbpx




बागलुङ, मंसिर २४ (नेपाल नीति) :  जिल्लाका सबै निर्वाचन क्षेत्रमा जितेका वाम गठबन्धनका उम्मेदवारले जनताको सेवामा प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

 

विजयोत्सव मनाउने क्रममा आयोजित कोणसभामा सम्बोधन गर्दै उनीहरुले भाषणभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता गरेका हुन् । चुनावमा प्रतिबद्धता गरेका काम पूरा गर्ने उम्मेदवारले वाचा गरेका छन् ।

 

विकास, समृद्धि, सुशासन र सामाजिक न्यायका पक्षमा काम गर्ने उम्मेदवारले बताएका छन् । क्षेत्र नं २ प्रदेश ‘ख’ का विजयी राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले जनताको सेवामा लाग्ने अठोट गरे ।

 

“अहिले यो गर्छु, त्यो गर्छु भन्दैन, जनताले नै मेलै गरेको कामको प्रचार गर्ने गरी काम गर्छु’, घर्तीले भने ।

 

क्षेत्र नं २ प्रदेश ‘क’ मा विजयी नेकपा (माओवादी केन्द्र)का चन्द्र बुढाले जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्नतर्फ लाग्ने बताए ।

 

क्षेत्र नं १ प्रतिनिधिसभामा विजयी नेकपा (एमाले)का सूर्य पाठकले मतदाताको अभिमत खेर जान नदिने बताए । उनले जिल्लाको समग्र विकासको खाका कोरेर अगाडि बढ्ने वाचा गरे ।

 

क्षेत्र नं २ प्रतिनिधिसभामा विजयी नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले विकास निर्माणमा बागलुङले फड्को मार्ने गरी काम गर्ने बताए । “कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा ठूलो सम्भावना छ”, उनले भने “एकीकृत विकासको अवधारणाअनुसार काम गर्छौं ।”

 

क्षेत्र नं १ प्रदेश ‘ख’ मा विजयी राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले जनताको आधारभूत आवश्यकता पूरा हुने गरी काम गर्ने बताए । उनले विकास निर्माणका साथै शिक्षा र स्वास्थ्यका समस्यालाई प्राथमिकता दिएर काम गर्ने बताए ।

 

क्षेत्र नं १ प्रदेश ‘क’ मा विजयी नेकपा (एमाले)का इन्द्रलाल सापकोटाले चुनावी प्रतिबद्धताअनुसार नै काम गर्ने बताए ।

 

विजयी उम्मेदवारले पराजय भोगेको काँग्रेसलाई प्रतिपक्षको भूमिका खेल्न आग्रह गरेका छन् । जिल्लामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरी चुनावी मैदानमा उत्रेका थिए भने काँग्रेस एक्लै चुनाव लडेको थियो । विसं २०७० मा सम्पन्न संविधानसभा दोस्रो निर्वाचनमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा काँग्रेस विजयी भएको थियो ।

तपाईंको प्रतिकृयाहरू