fbpx




काठमाडौँ, मंसिर २५, (नेपालनीति )-
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्याईं गरे पनि अधिकांश महिलाले उठेका ठाउँ बाट प्रत्यक्षमा विजय हासिल गरेका छन् ।
नेपालको संविधानले महिलालाई न्यूनतमरुपमा ३३ प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने संवैधानिक व्यवस्था गरे पनि दलहरुले त्यसलाई कार्यान्वयन गर्न तयार देखिएनन् । हालसम्म घोषित परिणामअनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा पौडेल, पवित्रा निरौला र बिना मगर निर्वा्चित भएका छन् । निर्वा्चित सबै वाम गठबन्धनका साझा उम्मेदवार हुन् । रोका पूर्वी रुकुम, भुसाल ललितपुर ३, पौडेल प्यूठान, निरौला झापा २ र मगर कञ्चनपुर १ बाट निर्वा्चित भएकी हुन् ।

पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि हुने चुनावमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको चुनावमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका थिए ।
प्रमुख राजनीतिक दलले कूल १६५ निर्वाचन क्षेत्रमध्ये १८ जनालाई मात्रै उम्मेदवार बनाएको थियो । प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामध्ये भुसाल नेकपा (माओवादी केन्द्र)का प्रवक्ता हुन । मगर र रोका भने सो पार्टीको पोलिटब्यूरो सदस्य हुन । पौडेल जनमोर्चा नेपालका उपाध्यक्ष, पौडेल झापा एमालेका नेता हुन ।

पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ क्षेत्रमा सम्पन्न भएको निर्वाचनमा नेपाली काँग्रेसले दुई र माओवादी केन्द्रले एक गरी जम्मा तीनजना मात्रै महिला उम्मेदवार बनाएको थियो । यसमध्ये पूर्वी रुकुमबाट माओवादी केन्द्रका उम्मेदवार रोका १० हजार ४३४ मत प्राप्त गरी विजयी भएकी हुन् ।

तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने चुनावमा प्रमुख तीन दलबाट १५ जना महिलाले बिहीबार उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका थिए ।

दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा सदस्य चुनावमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सातजना, नेकपा (एमाले)बाट पाँच र माओवादी केन्द्रबाट तीनजना महिलाको उम्मेदवारी परेको थियो ।

यसरी काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर–२ बाट महालक्ष्मी (डिना) उपाध्याय, काठमाडौं–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली–१ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा हुनुहुन्छ । उनिहरु सबै पराजित भएका छन् ।

यसैगरी नेकपा एमालेले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको थियो ।
वामगठन्धनकी साझा उम्मेदवार मञ्जु ५४८ मतान्तरले मात्रै पराजित भईन् । विजयी डा नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरिन् । मञ्जुले ३२ हजार ५९४ मत प्राप्त गरिन् ।

सुनसरी ३ बाट वामगठबन्धका उम्मेदवार भगवती अहिले पनि काँग्रेसका उम्मेदवार विजयकुमार गच्छदारसँग प्रतिस्पर्धामा छन्। उनले हालसम्म २६ हजार २१९ मत प्राप्त गरीन् । गच्छदारले २५ हजार ६२० मत ल्याएका छन् । अझै २० हजार मत गन्न बाँकी रहेकाले भगवतिको विजय हुने सम्भावना भने बाँकी नै रहेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले ललितपुर–३ बाट भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट मगरलाई उम्मेदवार बनाएको थियो । माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत भएका अर्याल पराजित भएकी छिन् ।

तीमध्ये कैलाली–१ मा महिला महिला उम्मेदवारबिच नै रोचक प्रतिस्पर्धा हुने ठानिएपनि त्यस्तो हुन सकेन । त्यस क्षेत्रमा काँंग्रेसका तर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनको तर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिएका थिए, यसअघि समानुपातिकबाट सांसद रहेका दुवै जना प्रत्यक्षबाट उम्मेदवारी दिएका थिए । तर दुवै उम्मेदवार राजपाका उम्मेदवार रेशम चौधरीभन्दा धेरै पछाडि परे ।
पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने चुनावमा कांग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ–१ बाट चम्पादेवी खड्का तथा माओवादीकी रोका पूर्वी रुकुमबाट उम्मेदवारी दिएका थिए त्यसमध्ये रोकाले मात्रै विजयको झण्डा पहराइन् ।

समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी कांगे्रसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका थिए ।

संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ ।

तपाईंको प्रतिकृयाहरू