fbpx




धनगढी, मंसिर२६ (नेपालनीति) –टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा ३४ हजार ३४१ मत प्राप्त गरी विजयी भएका छन् ।

आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी मदनकुमारी गरिमा शाहलाई २० हजार ९३५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा९एमाले०की शाह १३ हजार ४०६ र तेस्रो स्थानमा रहेकी काँग्रेस उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गर्ेकी छन् ।

प्रतिनिधिसभा सदस्यका लागि प्रदेश नं ७ मा यति ठूलो मतान्तरले विजयी हुने राजपा नेपालका चौधरी पहिलो भएका छन् । चौधरीले वारेसमार्फत मनोनयनपत्र दर्ता गराएका थिए ।

दुई वर्षअघि भएको टीकापुर काण्डपछि प्रहरीको फरार सूचीमा रहेका चौधरी भारतमा बस्दै आएका छन् । हिंसात्मक टीकापुर घटनामा एक नाबालक र आठ प्रहरीको हत्या भएको थियो ।

चौधरीले सामाजिक सञ्जाल र भिडियो क्लिपको प्रयोग गरेर आफ्ना समर्थकलाई चुनावी प्रचारमा परिचालन गरेका थिए। निर्वाचित चौधरीको प्रमाणपत्र तथा शपथ लिने विषयमा कानूनी व्यवस्था निर्वाचन आयोगको निर्णयबमोजिम हुने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले अभियुक्त चौधरीलाई भेटिएमा पक्राउ गरि “ कानूनबमोजिम अदालतमा पेश ”, गर्ने जानकारी दिए।

तपाईंको प्रतिकृयाहरू