fbpx




काठमाडौं, मंसिर २७ नेपाल नीति): नेपाली कांग्रेस उदयपुरको चुनावी प्रचारप्रसारमा जाने क्रममा मंसिर १३ गते भएको बम बिष्फोटनमा परि एउटा खुट्टा गुमाएकी ने. वि. संघकी मिरा कटुवाल हाल त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छिन् ।

उक्त दुःखद घटना पश्चात उनको साहस र कांग्रेसप्रति उनको समर्पणको कदर गर्दै सम्मान स्वरुप ने.वि.संघ केन्द्रिय सदस्यमा मनोनित भएकी कटुवाल जोशिलो स्वरमा भन्छिन् “मलाई यो पद चुनाव लडेरै प्राप्त गर्ने रहर थियो यद्यपि ने.वि. संघ अध्यक्ष नैनसिंह महर ज्यूको विशेष आग्रह र मेरा शुभचिन्तकहरुको चाहना बमोजिम मैले यो मनोनयनलाई सहर्ष स्विकार गरें । ”

अस्पतालको शैयामा रहेकी मिराले नेपाल नीतिसँग भनिन्, “अब झन् राजनीतिमा लागेर कांग्रेसले अंगालेको लोकतान्त्रिक समाजवाद फैल्याउन लाग्नेछु ।” सामान्य परिवारमा जन्मिएर संघर्ष गर्दै ने.बि.संघको राजनीतिमा निरन्तर क्रियाशील मिरा भन्छिन, “खुट्टा गुमे के भयो र ? दिमाग त ठिक ठाउँमै छ क्यारे ।”

देश निर्माणमा लाग्ने सपनामा यो घटनाले कुनै फरक नपार्ने प्रस्टाउदै हसिलो अनुहार पारेर कटुवाल थप्छिन्, “शारिरिक अपाङ्गताले मेरो यात्रालाई रोक्दैन, सबैको साथ माया र आशिर्वादले अझ केहि गर्न हिम्मत बढेको छ र यस्तै साथ सहयोगको अपेक्षा आगामी दिनमा पनि गर्नेछु ।”

तपाईंको प्रतिकृयाहरू