fbpx




रुपक अर्याल

काठमाडौं, मंसिर २६:  नेपाली कांग्रेसका अधिकांश प्रभावशाली नेता प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहबाहेक अन्य प्रभावशाली नेता पराजित भएका हुन् ।

पराजित हुनेमा पार्टी नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अर्जुननरसिंह केसी र पूर्णबहादुर खड्का पराजित भएका छन् । निधिलाई राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले पराजित गरे । २०४८ सालदेखि निरन्तर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै आएका नेता पौडेललाई एमाले नेता किसान क्षेष्ठले पराजित गरेका हुन् ।

त्यसैगरी वाम गठबन्धनका दुई ठूला हस्ती पनि पराजित हुन पुगेका छन् । वाम गठबन्धनको सूत्राधार मानिएका एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया र नारायणकाजी श्रेष्ठ गोरखाबाट पराजित हुन पुगेका छन् ।

त्यस्तै पार्टी राजनीतिमा मात्र नभएर राष्ट्रिय राजनीतिमा पनि भूमिका निर्वाह गर्न सक्ने मानिएका विश्वप्रकाश शर्मा, नवीन्द्रराज जोशी, प्रदीप पौडेलसहितका नेपाली कांग्रेसका य्रवा नेता पनि पराजित भएका छन् ।

प्रधानमन्त्री पत्नी आरजु राणा, केन्द्रीय सदस्यहरु महेश आचार्य, शेखर कोइराला, नारायणप्रसाद साउद, महालक्ष्मी उपाध्याय, अम्बिका बस्नेत, प्रकाशरण महत, दीपक गिरी, मोहनबहादुर बस्नेत, शंकर भण्डारी सहितका नेता पराजित भएका छन् । शेखर, नवीन्द्र, प्रदीप मात्र ५ मतको अन्तरमा) सहितका नेता हजारभन्दा कम मतान्तरले पराजित भए पनि अन्य नेताको मतान्तर भारी छ ।

कांग्रेसका ११ केन्द्रीय सदस्यले मात्रै चुनाव जितेका छन् । कांग्रेसका हाल कायम ८० सदस्यीय केन्द्रीय समितिमा ५४ जना उम्मेदवार मैदानमा थिए । निर्वा्चित भएकामा पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्यहरू नारायण खडका, प्रदीप गिरि, गगन थापा, मीनेन्द्र रिजाल, उमाकान्त चौधरी, देवन्द्रराज कँडेल र जीवनहादुर शाही छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा तराई मधेस केन्द्रित राजनीति गर्ने दलका मुख्य शीर्ष नेताहरू सबै विजयी भएका छन् । ६ वटा पार्टी मिलेर बनेको राजपाको अध्यक्षमण्डलमा सबै पार्टीका अध्यक्षहरू थिए । यस पटक उनीहरू सबैले जिते । वामपन्थी गठबन्धनको लहर चले पनि प्रदेश २ मा त्यसको असर मधेसकेन्द्रित दललाई परेन । तराईमा यसअघि राम्रै पकड राख्ने कांग्रेसलाई पनि मधेस केन्द्रित दलले खुम्च्याए ।

समानुपातिक सूचीको पहिलो नम्बरमा रहेको नाम हटाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका सिटौलालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका राजेन्द्र लिङ्देलले भारी मतान्तरले पराजित गरेका हुन् । झापामा लोकतान्त्रीक गठबन्धन टोडिँदा लगभग पक्का मानिएको झापा १ पनि कांग्रेसले गुमाउन पुगेको छ । त्यसैगरी, कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका शीर्ष नेता पनि पराजित भएका छन् । राप्रपाबाट वाम गठबन्धनको समर्थन पाएका राजेन्द्र लिङदेनबाहेक अरु सबै पराजित भए ।

राप्रपा अध्यक्ष कमल थापा मकवानपुर–१ मा एमाले उम्मेदवार कृष्ण दाहालसँग पराजित भए भने सिन्धुपाल्चोक–१ बाट पशुपतिशमशेर राणा एमालेकै शेरबहादुर तामाङसँग पराजित भए । राप्रपा प्रजातान्त्रिकका सुनिल थापालाई धनकुटामा एमालेका राजेन्द्र श्रेष्ठले पराजित गरे भने रुपेन्देही–३ मा दीपक बोहोरालाई एमालेकै घनश्याम भुसालले पराजित गरे ।

तपाईंको प्रतिकृयाहरू