fbpx




-प्रतिमा पोख्रल

काठमाडौ, मंसिर २६ (नेपाल नीति) : भर्खरै सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा विभिन्न दलबाट प्रत्यक्ष निर्वाचित सदस्यहरुको परिणाम लगभग आईसकेको छ । अहिलेसम्मको बिजयी संख्या र अग्रतालाई हेर्दा नेपाली कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन नसक्ने देखिएको छ ।

अहिले सम्मको मत परिणाम हेर्दा प्रदेश नम्बर २ मा मधेसवादी गठबन्धनले अगाडी छ भने अन्य सबै प्रदेशमा वामपन्थी गठबन्धनको स्पष्ट बहुमत आउने पक्का छ ।

प्रदेश नम्बर १, ३ ,४, ५, र ७ मा प्रत्यक्षतर्फ एमालेले एक्लै बहुमत ल्याउने गरी जित र अग्रता कायम गरेको छ । यसलाई विश्लेषण गर्दा एमाले बाटै प्राय मुख्यमन्त्री बन्ने देखिन्छ ।

 

प्रदेश नम्बर १ मा को ?

५६ निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा एमालेको फराकिलो अग्रता छ । जसमा मुख्यमन्त्रीका दाबेदार शेरधन राई छन् । एमालेमा अध्यक्ष केपी ओलीका बिश्वासिला पात्र मानिएका भोजपुरका पूर्व सूचना तथा प्रविधि मन्त्री शेरधन राईलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने लगभग पक्का छ । एमालेबाट पोलिटब्युरो सदस्य राईलाई नै मुख्यमन्त्री बनाउने उद्देश्यले नै भोजपुर र प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारमा सिफारिस गरिएको हो ।

 

प्रदेश नम्बर २ को ?
प्रदेश नम्बर २ मा भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको मधेसवादी गठबन्धनले बहुमतसहित प्रदेश सरकार बनाउने संकेत देखिएको छ । अहिलेसम्मको बिजयी संख्या र अग्रता हेर्दा मधेसवादी गठबन्धनले प्रदेश २ मा बहुमत ल्याउने संकेत देखिएको हो, मधेस केन्द्रित दलमध्ये महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको संघीय फोरमले सम्भावित मुख्यमन्त्रीको अनौपचारिक निर्णय गरेर प्रदेशसभाबाट उम्मेदबार बनाउने काम गरेका छन जसअनुसार संघीय फोरमबाट उपाध्यक्ष मोहम्मद लालबाबु राउत र राजपाबाट महामन्त्री जितेन्द्र सोनाललाई पहिलो सूचीमा रहेका छन् ।

प्रदेश ३ मा को ?
राजधानी काठमाडौं समेटिएको सबैभन्दा ठूलो ३ नम्बर प्रदेशमा एमाले एक्लै प्रत्यक्षतर्फ बहुमत नजिक पुगेको छ । यो प्रदेशमा वामपन्थी गठबन्धनको सहज बहुमत आउने देखिएको छ । मुलुकको राजधानीसमेत रहेको यस प्रदेशमा सबै दलको चासो ठूलै छ । प्रदेशसभाका लागि यहाँ सबैभन्दा बढी ६६ सिट छन् । कांग्रेसबाट उपसभापति, महामन्त्री रहिसकेका पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, को दाबेदारी रहेता पनि बामगठबन्धनको बहुमतका कारण यस क्षेत्रबाट एमालेबाट पार्टी उपाध्यक्ष तथा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य नै मुख्यमन्त्रीको दाबेदार हुन् ।

 

प्रदेश नम्बर ४ मा को ?
स्थानीय चुनावमा कांग्रेसले बहुमत पाएको प्रदेश नम्बर ४ मा प्रदेशसभामा भने प्रत्यक्षतर्फ एमाले एकल बहुमततर्फ उन्मूख भएको छ । प्रदेशसभाका लागि यस प्रदेशमा ३६ सिट छन् । पहिले एमालेबाट रवीन्द्र अधिकारी र खगराज अधिकारीले पनि मुख्यमन्त्री बन्ने रहर गरेतापनि पृथ्वीसुब्बा गुरुङलाई प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन लगाउनुले उनी नै मुख्यमन्त्रीमा लगभग पक्का हुनु भनेर दावी गर्न सकिन्छ ।

 

प्रदेश नम्बर ५ को ?
प्रदेश नम्बर ५ पनि वामपन्थी गठबन्धन बहुमत नजिक छ । हाल सम्मको मत परिणाम हेर्दा प्रत्यक्षतर्फ ५२ सिट रहेको ५ नम्बर प्रदेशसभामा एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो स्थानमा रहेने अनुमान लगाउन सकिन्छ । एमालेका उपाध्यक्ष वामदेव गौतम ले पराजय भागेको यस क्षेत्रमा, माओवादी केन्द्रका कृष्ण बहादुर महरालाई दाङ क्षेत्र न. २ बाट प्रतिनिधिसभाको टिकट दिएर शंकर पोखरेललाई मूख्यमन्त्रि बनाउने सहमतिमा प्रदेशसभाबाट उठाइएकाले पनि पोखरेल नै प्रदेश ५ बाट मुख्यमन्त्रि बन्ने लगभग पक्का नै छ ।

 

प्रदेश ६ मा को ?
प्रदेश नम्बर ६ मा कांग्रेसलाई क्लिन स्वीप हुनबाट हुम्लाका जीवनवहादुर शाहीले जोगाएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुम्लाबाट प्रदेशसभा सदस्य निर्वा्िचत भएका छन् । सो प्रदेशका अन्य सबै प्रदेशसभाका सिटमा वामपन्थी गठबन्धनले जितेको छ । प्रदेश–६ मा प्रदेशसभातर्फ जम्मा २४ सिट मात्र छन् । यो सबैभन्दा सानो प्रदेशसभा हो । माओवादीका महेन्द्रबहादुर शाही नै मुख्य मन्त्रीको दाबेदारमा रहेका छन् ।

 

प्रदेश ७ मा को ?
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिष्ठाको विषय बनाएको प्रदेश नम्बर ७ मा पनि वामपन्थी गठबन्धनको बहुमत आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको प्रदेश हो, यो । त्यसैले स्वाभाविक रुपमा नेपाली कांग्रेसले ठूलै प्रतिष्ठाको विषय बनाएको छ । यस प्रदेशसभामा ३२ सिट छन् । एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भीम रावलको प्रदेश पनि यही हो । वाम तालमेलमा यहाँ माओवादी केन्द्रले एमालेलाई सहयोग गरेको कारण यस प्रदेशबाट एमालेबाट नै मुख्यमन्त्री बन्ने अनुमान गर्न सकिन्छ ।

तपाईंको प्रतिकृयाहरू