fbpx




इस्लामाबाद, पुस २ (बिबिसी)-पाकिस्तानको एउटा चर्चमा आत्मघाती बम र बन्दुक आक्रमण हुँदा थुप्रै मानिसको मृत्यु भएको छ ।

अफ्गानिस्तानसँग लगभग ६५ किलोमिटर पर सीमा नजिकै पकिस्तानको कुइटा सहरमा उक्त आक्रमण भएको बताइएको छ । पाकिस्तानी प्रहरी अधिकारी अब्दुल रज्जाक छिमालाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएअनुसार आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ’मेथोडिस्ट’ चर्चमा प्रार्थना भइरहेका बेला आक्रमण भएको क्षेत्रीय गृहमन्त्री सर्फराज बुग्तीले स्थानीय सञ्चारमाध्यमलाई बताए । उनका अनुसार चर्चको प्रवेशद्वार नजिकै दुई जना आत्मघाती आक्रमणकारी रोकिएका थिए । ती दुई आत्मघातीलाई प्रवेशद्वारमा रोकिएको थिएन भने सयौं मानिस हताहती हुन सक्थे, मन्त्री रज्जाकले ट्विट गर्दै बताएका छन् ।

संदिग्ध आत्मघाती आक्रमण ठानिएको उक्त घटनामा कम्तीमा एकपटक विस्फोट भएको र त्यसपछि बन्दुकधारीहरुले गोली चलाएको विवरणहरुमा जनाइएको छ । सुरक्षा फौजले उक्त चर्चको आसपासमा अर्च अपरेसन चलाइरहेको र उक्त क्षेत्रभित्र र बाहिर जान रोक लगाइएको उर्दू भाषमा प्रसारण हुने स्थानीय टेलिभिजन च्यानलहरुले जनाएका छन् ।

पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता डाक्टर मोहम्मद फैसलले आक्रमणको निन्दा गरेका छन् । पाकिस्तानको यस क्षेत्रमा आत्मघाती आक्रमण हुनु कुनै नौलो विषय नभएको बिबिसीले जनाएको छ । यस क्षेत्रमा प्राय हजारा सिया समुदायमाथि लक्षित गरेर आत्मघाती बम आक्रमण हुने गरेका छन् । तर पाकिस्तानको अल्पसंख्यक इसाई समुदाय पनि लडाकु आक्रमणको विषयवस्तु बन्ने गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू