fbpx




 

विराटनगर, पुस ४ (नेपालनीति) – विराटनगर सरकारले हुलाकी राजमार्गमा १० नयाँ शहर बसाउने योजनाअनुसार परामर्शदाता नियुक्तिको प्रक्रिया थालेको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ शहर आयोजनाले काम थालेको हो ।
आयोजना प्रमुख पराग कायस्थका अनुसार गत मंसिर२ मा परामर्शदाताका लागि आवेदन मागिएको थियो । हालसम्म आएका निवेदनहरुको प्राविधिक र आर्थिक मूल्यांकनको काम भइरहेको छ । सातवटा प्याकेटमा काम गर्ने गरी ४९ वटा निवेदन परेका छन् ।

तीमध्येबाट १४ पुसभित्रमा परामर्शदाता छनोट गरिने कायस्थले जानकारी दिए । ‘फागुन पहिलो सातादेखि एकीकृत विकास योजना निर्माण शुरु हुनेछ,’ उनले भने ।
कायस्थका अनुसार उक्त आयोजनाका लागि चालु आर्थिक वर्षमा एक करोड ८६ लाख रुपैयाँ विनियोजन भएको छ । १५ वटा शहरलाई १० वटा प्याकेजमा व्यवस्थापन गर्ने आयोजनाको लक्ष्य छ ।
परामर्शदाताले ६ महिनाभित्र ती शहरका एकीकृत विकास योजना निर्माणको समय पाउने छन् । र, पाँच वर्षभित्र न्यूनतम पूर्वाधारयुक्त शहर विकास गरिसक्ने लक्ष्य छ ।
सरकारले मध्यपहाडी राजमार्गमा जस्तै हुलाकी मार्गमा पनि आधुनिक शहर बसाउन लागेको हो । हुलाकी सडकको दायाँ(बायाँ तीन किमि क्षेत्रमा त्यस्ता शहर बसाउने सरकारी योजना छ ।
जमिनको उपलब्धता, जनसंख्या, जनघनत्व, नोडल(जक्सन, आर्थिक विकासको सम्भावना, गैरकृषिमा संलग्न जनसंख्या, खानेपानीको स्रोत, बसाइँसराइ, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचजस्ता ११ सूचकलाई आधार मानेर शहर बसाउने क्षेत्र छनोट गरिएको छ ।
१७ सय ९२ किमि लामो हुलाकी राजमार्गले झापाबाट कञ्चनपुर जोड्नेछ । सातमध्ये चार वटा प्रदेशमा व्यवस्थित बस्ति बसाउने योजना रहेको कायस्थले जानकारी दिए ।
प्रदेश(१ मा झापाको गौरीगञ्ज र मोरङको रंगेली, प्रदेश(२ मा बाराको गढीमाई, सर्लाहीको ईश्वरपुर, सप्तरीको शम्भुनाथ, महोत्तरीको बलावा(सरपल्लो, प्रदेश(५ मा बर्दियाको राजापुर र नवलपरासीको बर्दघाट तथा प्रदेश(७ मा कञ्चनपुरको बेलौरी र कैलालीको भजनी(त्रिशक्तिमा शहर विकास गरिने छ ।
कायस्थका अनुसार हुलाकी राजमार्गले जोडेका २० जिल्लाका बासिन्दाको जीवनस्तर उकास्न आधुनिक शहर निर्माण गर्ने अवधारणा छ ।

तपाईंको प्रतिकृयाहरू