fbpx




 

काठमाडौं, पुस ४ (नेपालनीति) – काठमाडौं । प्रदेश नम्बर २ मा बहुमत सिट जितेको राष्ट्रिय जनता पार्टी (राजपाले) प्रदेशको राजधानी बाहेक मुख्यमन्त्री र प्रदेशको नाममा छलफल गर्न बाँकी रहेको जनाएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजधानी जनकपुर बाहेक अरुमा छलफल नहुने बताएका छन् ।
महतोले भने( २ नम्बर प्रदेशमा हाम्रो मधेस (केन्द्रित दल) को बहुमत पुगेको छ । जनताको म्याण्डेट अनुसार काम गरेर देखाउनुपर्ने चुनौति पनि आएको छ । प्रदेशको राजधानी जनकपुर हुन्छ अरु कुरामा प्रदेशसभाको दुई तिहाईले निर्णय गर्नेछ ।
प्रदेश २ को मुख्यमन्त्री राजपा वा संघीय समाजवादी फोरममध्ये कसले पाउने भन्ने छलफल नभएको महतोले बताए । उनले भने( भर्खर चुनाव सकिएको छ, पूरै परिणाम आइसकेको छैन, मुख्यमन्त्रीका लागि हामीसँग एकसेएक योग्य व्यक्ति छन् । सहमतिबाट मधेसवादी गठबन्धनकै एक व्यक्ति हुनेछन् ।
प्रदेशसभामा एमाले प्रमुख प्रतिपक्षमा आइपुगेको भन्दै महतोले प्रमुख प्रतिपक्षसँग सहमति गरेर प्रदेशसभाको नाम र राजधानी तोकिने बताए । उनले भने( प्रदेशको नाम मधेस प्रदेश हुन पनि सक्छ । मिथिला प्रदेश हुन पनि सक्छ । जनताले मधेस प्रदेशका लागि अभिमत दिएका छन्, नाम के राख्ने भन्नेमा हामी धेरै विवाद गर्दैनौं, प्रदेशसभाको दुई तिहाइले गर्नेछ ।
२ नम्बर प्रदेशमा मधेसवादी गठबन्धनको बहुमत पुग्ने देखिएको छ । दोस्रो स्थान जितेर एमाले प्रमुख प्रतिपक्ष बन्ने देखिएको छ भने कांग्रेस तेस्रो र माओवादी चौथो स्थानमा छन् । महतोले प्रदेश २ मा मधेस केन्द्रित दलले प्रदेश सरकार बनाउने बताए ।
कांग्रेस नेता बिमलेन्द्र निधीलाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महतोले केन्द्रीय सरकारसँग मधेसको सम्बन्ध संविधान संशोधनमा उसको भूमिका अनुसार निर्धारण हुने बताए । उनले संविधान संशोधनबारे एमालेको दृष्टिकोण के हुन्छ त्यसअनुसार सम्बन्ध निर्धारण हुने बताए ।
महतोले भने( संविधान संशोधनको पक्षमा मधेसको अभिमत आएको छ । मधेससँग वामपन्थी गठबन्धनले सहकार्य गर्छ कि गर्दैन भन्ने कुरा संविधान संशोधन गराउन उसले लिने अग्रसरतामा भर पर्छ, अहिले म धेरै कठोर टिप्पणी गर्न चाहान्नँ ।

तपाईंको प्रतिकृयाहरू