fbpx




काठमाडौँ, पुस ५ (नेपालनीति)– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनको कोशेढुङ्गाका रुपमा रहेको प्रतिनिधिसभा –प्रदेशसभा निर्वाचन सम्पन्न भएकोमा सरकार, राजनीतिक दल एवं संवैधानिक निकायलाई बधाई दिएकी छन् ।
वामगठबन्धनमा आवद्ध दुई दल नेकपा ( एमाले) तथा नेकपा(माओवादी केन्द्र)का शीर्ष नेतृत्वसित आज राष्ट्रपति कार्यालय शीतलनिवासमा सम्पन्न भेटमा उनले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकासमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरीन् ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले दिएको जानकारी अनुसार सो अवसरमा राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले जनताको आर्थिक एवं सामाजिक उन्नतिका लागि सहमतिका साथ काम गर्ने विश्वास व्यक्त गरेकी छन ।
“लोकतन्त्रको मूल्य, मान्यता र परम्परालाई राजनीतिक दलहरुले राम्रोसँग बुझेका छन् । सहमति, सहकार्य र एकताका आधारमा देशमा आर्थिक समृद्धि हासिल हुने” राष्ट्रपति भण्डारीले बताएकी छन् ।
राष्ट्रपति भण्डारीसँगको भेटमा नेकपा( एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेता सुवास नेम्वाङ तथा ( नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए ।
राष्ट्रपति भण्डारी र उनीहरुका वीचमा राष्ट्रियसभाको निर्वाचनसम्बन्धी आवश्यक ऐनका विषयमा समेत कुराकानी भएको जनाइएको छ ।
भेटपछि नेकपा (माओवादी केन्द्र) का नेता श्रेष्ठले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएकोमा बधाई दिएकी छन् ।
उनले अगामी दिनमा राजनीतिक दलहरुले सहमति, सहकार्य र एकता गरी अगाडि बढ्ने विश्वास व्यक्त गरीन् ।

तपाईंको प्रतिकृयाहरू