fbpx




२ असोज, काठमाडौं, नेपालनीति

स्थानीय तहको तेस्रो चरणको निर्वाचन प्रदेश न. २ का अाठ जिल्लामा आज सम्पन्न हुँदै छ। कुल १३६ स्थानीय तहमा ६६२७ पदका निम्ती निर्वाचन हुँदै छ। यस प्रदेशको एकमात्र महानगरपालिका वीरगंज महानगर, जनकपुर, कलैया-जितपुर उपमहानगर सहित ७३ नगरपालिका, ५९ गाउँपालिका र १ हजार २ सय वडामा निर्वाचन हुँदै छ। झण्डै २० बर्षपछि आफ्नो स्थानीय जनप्रतिनिधि छनोट गर्न पाउँदा मतदाताहरु उत्साहित देखिन्छन्।

प्रदेश न. २ का सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, महोत्तरी र पर्षा गरि कुल २६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेका छन्। उनीहरुले ३ हजार ५ सय ७७ मतदान केन्द्रबाट मतदान गर्दैछन्। निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूर्ण रहेको र मतदाताले उत्साहपूर्वक आफुले चाहेको उम्मेदवारलाई मतदान गर्ने बताएको छ। त्यस्तै गृहमन्त्रालयले मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ। गृहमन्त्रालयका अनुसार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी कुल ६० हजार भन्दा बढी सुरक्षाकर्मी ८ जिल्लामा परिचालित छन्।

राजनीतिक दलहरुले यस प्रदेशलाई आफ्नो प्रतिष्ठासंग जोडेका छन्। को पहिलो हुने भन्ने दलहरुको होडबाजी यो प्रदेशमा राम्रैसंग देखिन्छ। दलहरुले मतदातालाई आफ्नो पक्षमा पार्न भोज संचालन गर्ने देखी विभिन्न सामाग्री वितरणसम्मको विधि अपनाए। अन्य प्रदेशमा दुई चरण (वैशाख ३१ र असार १४) गरी यस अघी नै स्थानीय निर्वाचन सम्पन्न भएको भएपनी राजपा लगाएतका दलहरुलाई सहमतीमा लयाएर निर्वाचन गर्न सरकारले प्रदेश न. २ मा असोज २ गतेलाई स्थानीय निर्वाचनको तेस्रो चरणको निर्वाचन मिति तय गरेको थियो।

तपाईंको प्रतिकृयाहरू