fbpx




सोल, पुस ९ (बिबिसी)– आफूमाथि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले थप प्रतिबन्ध लगाएपछि उत्तर कोरियाले आक्रामक प्रतिक्रिया दिएको छ ।
उसले पछिल्लो प्रतिबन्ध आफ्नो देशमाथि थोपरिएको युद्धको कदमको संज्ञा दिएको बिबिसीले उल्लेख गरेको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आफ्नो देशमाथि थप प्रतिबन्ध लगाउने शुक्रबारको कदम पूर्ण रूपमा आर्थिक नाकाबन्दी भएको उल्लेख गरिएको उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । विज्ञप्तिमा उत्तर कोरियाको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाएर मात्रै संयुक्त राज्य अमेरिकालाई निस्तेज पार्न सकिने व्यवहोरा उल्लेख गरिएको केसिएनएले जनाएको छ ।

उत्तर कोरियाको निरन्तरको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणलाई लिएर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्योङयाङविरुद्ध शुक्रबार नयाँ प्रतिबन्ध लगाएको थियो । अमेरिकाले तयार पारेको प्रतिबन्धसम्बन्धी प्रस्तावलाई सुरक्षा परिषद्का १५ वटै राष्ट्रले सर्वसम्मत रूपमा पारित गरेका थिए । जसमा उत्तर कोरियामा निर्यात भइरहेको पेट्रोलियम पदार्थलाई ९० प्रतिशतसम्म घटाउने विषय समावेश गरिएको छ ।

उत्तर कोरियाको विज्ञप्तिले के भन्छ?
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको पछिल्लो प्रतिबन्धलाई देशको सार्वभौमसत्तामाथिको दर्दनाक हमला र युद्धको कदम भएको र त्यसले कोरियाली प्रायद्वीप र व्यापक क्षेत्रको शान्ति र स्थायीत्वलाईसमेत समाप्त पार्ने बताइएको छ । ‘हामी आणविक शक्ति सम्पन्न राष्ट्र भएको ऐतिहासिक कारणले अमेरिका तर्सिएको र हामीमाथि कडाभन्दा कडा दबाब दिएको छ,’ विज्ञप्तिमा जनाइएको छ । ‘हामी अमेरिकाको आणविक चुनौतीलाई हटाउँदै हाम्रो राष्ट्रिय आत्मसुरक्षाका लागि आणविक हतियार थप विकास गर्दै लाने छौं,’ उत्तरले बताएको छ ।

तपाईंको प्रतिकृयाहरू