fbpx




कराकस, पुस ९ (बिबिसी)– भेनेजुएलाले कराकसका लागि ब्राजिलियन राजदूत रुई पेरेइरा र क्यानेडियन कूटनीतिक मामिलाका प्रमुख क्रेब कोवालिकलाई देश निकाला गरेको छ ।

ब्राजिलियन र क्यानेडियन उच्च तहका कूटनीतिज्ञलाई देश निकाला गर्ने कदम भेनेजुएलाको शक्तिशाली संविधानसभाका प्रमुख डेल्सी रोड्रिगुवेजले चालेको बताइएको छ । रोड्रिगुवेजले ब्राजिले कानुनको शासन उल्लङ्घन गरेको र क्यानडाले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरको आरोप लगाउँदै ती कूटनीतिज्ञहरुलाई देश निकालाको घोषणा गरेको बिबिसीले जनाएको छ । आफ्ना कूटनीतिज्ञलाई देश निकाला गर्ने भेनेजुएलाको घोषणालाई ब्राजिल र क्यानडा दुवैले कडा शब्दमा निन्दा गरेका छन् । केही महिना अघि क्यानडाले भेनेजुएलाका वरिष्ठ अधिकारीमाथि क्यानडा प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

‘असभ्य र अश्लील’
ब्राजिलका मध्य दक्षिणपन्थी राष्ट्रपति मिचेल टेमरले वामपन्थी नेता डिल्मा रुसेफलाई पदस्थापना गरेदेखि नै भेनेजुएलाको ब्राजिलसँगको कूटनीतिक सम्बन्ध चिसिएको हो । रुसेफलाई महाभियोग लगाइएको विषयलाई भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोले दक्षिणपन्थी कूको संज्ञा दिएका थिए ।
‘ब्राजिल सरकारले तोडेको देशको संवैधानिक व्यवस्थालाई नसच्चाएसम्म ब्राजिलसँगको कूटनीतिक सम्बन्ध पुनः स्थापना हुँदैन,’ शनिबार आयोजना भएको पत्रकार सम्मेलनमा भेनेजुएलाको संविधानसभाकी अध्यक्ष रोड्रिगुवेजलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रतिक्रियास्वरुप ब्राजिलियन सरकारले भने भेनेजुएलाको पछिल्लो कदमले पुनः एकपटक राष्ट्रपति माडुरो प्रशासनको तानाशाही प्रवृत्ति सतहमा आएको बताएको छ ।
पत्रकार सम्मेलनका क्रममा रोड्रिगुवेजले कोवालिकलाई भेनेजुएलाको आन्तरिक मामिलामा असभ्य तथा अश्लील तरिकाले हस्तक्षेप गरेको आरोप लगाएकी छिन् ।
भेनेजुएला र क्यानडाबीचको सम्बन्ध केही महिना अघिदेखि निकै नै खराब अवस्थामा चलिरहेको छ । ओट्टवाले मानवअधिकार हनन र भ्रष्टाचार गरेको आरोपमा यसै वर्षको सुरुतिर भेनेजुएलाका उच्च अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको थियो । भेनेजुएलाको विदेशमन्त्री जर्ग अरेजाले गत नोभेम्बर महिनामा क्यानडाको प्रतिबन्ध गैरकानुनी भएको भन्दै क्यानेडियन सरकारलाई लाज नभएको र ट्रम्प प्रशासनसँग आत्मसमर्पण गरेको आरोप लगाएका थिए ।

आफ्ना उच्च कूटनीतिज्ञलाई देश निकाला गर्ने भेनेजुएलाको निर्णयलाई प्रतिक्रिया जनाउँदै क्यानडाले यस्तो कदमले माडुरो सरकारप्रतिको क्यानडाको धारणा परिवर्तन नहुने बताएको छ । माडुरोले विपक्षी दलको वर्चस्व रहेको राष्ट्रिय सभालाई पदस्थापना गर्दै संविधानसभाको निर्वाचन गरेको विरोध गर्ने विश्वका धेरै देशमध्ये क्यानडा र ब्राजिल पनि रहेका छन् ।

भेनेजुएलामा संविधानासभाको निर्वाचन गर्ने माडुरोको निर्णयसँगै देशैभर भएको सडक संघर्ष र प्रदर्शनका कारण चार महिनाबीचमा करिब एक सय २० जनाको मृत्यु भएको थियो । जुलाई महिनामा भेनेजुएलामा भएको संविधानसभाको निर्वाचनलाई विपक्षी दलले बहिष्कार गर्दै अनाधिकारिक जनमतसंग्रहसमेत गरेका थिए । जसमा विपक्षी दलकाअनुसार करिब ७० लाख भनेजुएलाली नागरिकले संविधानसभाको विरुद्धमा मतदान गरेका थिए । भेनेजुएलाको संविधानसभालाई युरोपेली संघ र ल्याटिन अमेरिकाका प्रमुख राष्ट्रहरुले अझै पनि स्वीकार गरिसकेका छैनन् ।

अमेरिकाले माडुरोविरुद्ध प्रतिबन्ध लगाएको छ भने ट्रम्प प्रशासनले भने उनलाई तानाशाहको संज्ञा दिएको छ । माडुरोको ६ वर्षे कार्यकाल सन् २०१९ मा सकिँदै छ र उनी पुनः अर्को निर्वाचनमा समेत राष्ट्रपति पदको दौडमा रहने बताइएको छ । विपक्षी दलले भने माडुरो र उनी अघिका राष्ट्रपति ह्युगो चावेजले देशको अर्थतन्त्र र समाजवादी नीतिलाई ध्वस्त पारको आरोप लगाउँदै आएका छन् । भेनेजुएला विश्वमा मुद्रास्फ्रिती दर बढी हुने देशमध्ये पर्दछ र वर्षौंदेखि आधारभूत सामाग्री जस्तै औषधिलगायतको कमीबाट गुज्रिरहेको छ ।

तपाईंको प्रतिकृयाहरू