काठमाडौं, पुस ९ (नेपालनीति)– नेपाल टेलिकमले आफ्ना सेयर लगानीकर्तालाई प्रतिसेयर बराबर ५५ रुपैयाँ लाभांश दिने भएको छ ।
कम्पनीले लाभांश वितरणका लागि अर्थ मन्त्रालयको स्वीकृति पाइसकेको छ । आगामी पुस ३० गते कम्पनीको साधारणसभा बस्दैछ । सो सभाले लाभांश पारित गरेपछि लगानीकर्ताले आफूसँग भएको एक कित्ता सेयर बराबर ५५ रुपैयाँ लाभांश पाउने छन् ।
टेलिकमले नगद लाभांश मात्रै प्रदान गर्दै आएको छ । कम्पनीको बजारमा सेयर मूल्य प्रतिकित्ता ८६० रुपैयाँको हाराहारीमा रहेको छ । बजारमा सूचीकृतमध्ये यो सबैभन्दा धेरै नाफा कमाउने कम्पनी हो । कम्पनीले गत आर्थिक वर्षमा १५ अर्ब १ करोड खुद नाफा कमाएको थियो ।