fbpx




नयाँ दिल्ली, पुस १० (एजेन्सी)– भारतले राजधानी नयाँ दिल्लीमा सोमबार चालक बिनाको प्रविधिसहितको मेट्रो ट्रेन सञ्चालनमा ल्याएको छ ।

चालकरहित मेट्रो रेल सञ्चालनमा ल्याइए पनि नयाँ दिल्लीका अधिकारीहरुका अनुसार कम्तीमा एक वा दुई वर्ष भने रेललाई चालकले नै चलाउने छन् । राजधानी नयाँ दिल्लीको दक्षिणी भागलाई यमुना नदीसँगै रहेको आइटी हब भारतको स्याटालाइट सहर नोयडासँग जोड्ने करिब १२.६ किलोमिटर दूरीको छोटो खण्डको रेलसेवा उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन् ।

‘उच्च तहको स्वचालित रेल सुरुमा चालकसहित चल्ने छ तर भविष्यमा चालकविहीन हुन पनि सक्नेछ,’ दिल्ली मेट्रो रेल कर्पोरेसनले बताएको छ । मेट्रो कर्पोरेसनका अधिकारीहरुले इन्डियन एक्सप्रेस पत्रिकालाई बताएअनुसार रेलमा एक वा दुई वर्षसम्म अपरेटरका रूपमा मानिस हुनेछन् । भारतमा गत साता एउटा डिपोको पर्खालमा गएर एउट नयाँ रेल दुर्घटना भएपछि स्वचालित प्रविधिको बारेमा सरोकार बढिरहेको छ । तर पनि दिल्ली मेट्रो कर्पोरेसनले उक्त रेल दुर्घटना मानिसको कमजोरीका कारण भएको बताएको छ । उक्त निकायले रेल मर्मत गर्ने क्रममा कामदारहरुले निकालेको ब्रेक पुनः राख्न बिर्सदाँ दुर्घटना भएको बताएका छन् ।

रेल लिकबाट बाहिर गएर पर्खालमा गएर ठोक्किएको थियो । दिल्ली मेट्रो प्रणालीमा थपिएको म्यागेन्टा लाइन नयाँ हो जुन १५ वर्ष अघि खोलिएको थियो र दुई सय भन्दा बढी किलोमिटर क्षेत्र ओगटेको छ । भारतमा सडकको अवस्था र वातावरण प्रदुषणको समस्या बिकराल भए पनि यस प्रणालीले दिल्लीवासीलाई काममा जान र विद्यालय जान सजिलो बनाउन सुरु गरेको छ ।

तपाईंको प्रतिकृयाहरू