fbpx




मनिला, पुस १० (एजेन्सी)– लागूऔषधको कारोबारमा संलग्नताको आरोप लागेपछि फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेका जेठा छोराले दक्षिणी सहर दाभाओको उपमेयर पदबाट सोमबार राजीनामा दिएका छन् ।

उनको राजीनामा आउनुमा विपक्षीको आरोपसहित उनको असफल वैवाहिक सम्बन्धको पनि हात रहेको बताइएको छ । पाओलो डुटेर्टेले दाभाओ सहर काउन्सिलको विशेष सत्रमा उपमेयर पदबाट सोमबार राजीनामा गरेको घोषणा गरेका हुन् । दाभाओ सहर फिलिपिनी राष्ट्रपति डुटेर्टेको गृहसहर हो र यस सहरको मेयर पाओलोकी कान्छी बहिनी सारा डुटेर्टे–कार्पियो रहेकी छिन् ।

‘मेरो जीवनको पछिल्लो समयमा विभिन्न अभाग्यशाली घटनाहरु भएका छन् जसमा मेरो पहिलो वैवाहिक जीवनसँग नजिकैको सम्बन्ध रहेको छ,’ उपमेयर पाओलोले सञ्चारमाध्यमका लागि उपलब्ध गराएको विज्ञप्तिमा जनाइएको छ । ‘जसमा पछिल्ला दिनमा मेरो इज्जतलाई लागूऔषध कारोबारसँग जोडिने कार्य र मेरो छोरीको जीवनमा सार्वजनिक टिकाटिप्पणी हुने गरेका छन्,’ उनले बताए ।

पाओलोले गत सेप्टेम्बर महिनामा चीनबाट भित्रिएको करिब एक सय २५ मिलियन अमेरिकी डलर बराबरको लागूऔषधलाई नियन्त्रणमा लिइएपछि राष्ट्रपति डुटेर्टेका विपक्षीले उनका छोरा पाओलोले मनिलामा रहेको बन्दरगाहमा सजिलैसँग प्रवेश गर्न सहयोग गरेको हुनसक्ने भनेर लगाएको आरोपमा संसदीय सुनुवाईको सामना गरेका थिए । पाओलोले उक्त घटनामा आफ्नो कुनै पनि सहभागीता अस्वीकार गर्दैै आएका छन् । केही समय अघि मात्रै पाओले उनकी जेठी श्रीमतीकी १५ वर्षीया छोरीसँगको अनलाइन विवादमा मुछिएका थिए । पाओलोकी छोरीले ट्विटरमा आफ्नो बाबुले नराम्रो व्यवहार गरेको गुनासो गरेपछि उनले ‘असजिला’े भनेर फेसबुकमा भनेका थिए ।

पाओलोको राजीनामालाई लिएर फिलिपिन्सको राष्ट्रपति कार्यालय, मेयरको कार्यालय र परिवारका अन्य सदस्यले तत्काले कुनै प्रतिक्रिया नजनाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू