fbpx




इस्लामाबाद, पुस १० (बिबिसी)– पाकिस्तानविरुद्ध जासुसी गरेको आरोपमा मृत्युदण्ड सुनाइएका भारतीय नौसेनाका पूर्व अधिकारी कुलभुषण जाधवको परिवारलाई उसले भेट्न दिएको छ ।

कुलभुषणलाई सजाय तोकिएकोबारेमा दुई देशबीच वादविवाद चलिरहेको बेला उनकी आमा र पत्नीले जाधवलाई सोमबार राजधानी इस्लामाबादमा भेटेका छन् ।
पाकिस्तानले जाधवलाई सन् २०१६ मा बलोचिस्तानबाट पक्राउ गरेको बताउँदै उनले गल्ती स्वीकारेको भनिएको भिडियोहरु सार्वजनिक गरेको छ ।
भारतले भने जाधव इरानमा रहेको बेला पाकिस्तानले अपहरण गरको र मनगढन्ते आरोपमा फसाइएको बताउँदै आएकोे छ ।
जाधवकी आमा अभन्ती र उनकी पत्नी चेतनकुललाई उनीहरुको पाकिस्तान भ्रमणका बेला भारतीय कूटनीतिज्ञले सहयोग गरेका थिए । जाधवको परिवारले उनलाई राजधानी इस्लामाबादमा रहेको पाकिस्तानी विदेश मन्त्रालयमा भेटेको र सोमबार साँझ नै उनीहरु भारत फर्कने कार्यसूची रहेको बताइएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले मानवीय मान्यताका आधारमा पारिवारिक भेटघाट गर्न दिइएको बताएका छन् । जाधवका आमा र पत्नीलाई पाकिस्तानी विदेश मन्त्रालयाको कार्यालयमा अत्यन्तै कडा सुरक्षाकाबीच लगिएको बिबिसीको हिन्दी संस्करणमा जनाइएको छ ।
‘दुवै महिला एकदमै चिन्तित देखिन्थे । पत्रकारहरुले प्रश्न सोधिरहे पनि उनीहरुले केही बोलेनन् । उनीहरु शान्तपूर्वक विदेश मन्त्रालयको भवन तिर गइरहेक,’ बिबिसीले जनाएको छ ।

कुलभुषण जाधव को हुन्?
भारतको मुम्बई सहरका बासिन्दा ४६ वर्षे जाधव अवकाश प्राप्त भारतीय प्रहरी अधिकारी सुधिर जाधवका छोरा हुन् । भारतीय नौसेनाका पूर्व अधिकारी जाधवले दर्जनौं वर्ष सेवा गरेका थिए । उनको परिवारले जाधवले आफ्नै व्यापार सुरु गर्न नौसेना छोडेको बताउने गरेको छ । परिवारका अनुसार नौसेना छोडेपछि जाधवले इरानको चाबाहर बन्दरगाहमा काम गरिरहेका थिए । उनलाई पाकिस्तानको सैन्य अदालतले आफ्नो देशविरुद्ध जासुसी गरेको भन्दै गत अप्रिल महिनामा मृत्युदण्डको फैसला गरेको थियो । विवाहित जाधवका छोराछोरी पनि छन् । भारत र पाकिस्तान दुवै देशले जाधवको विषयलाई लिएर नेदरल्यान्डको हेगमा रहेको अन्तर्राष्ट्रिय न्याय अदालतमा कानुनी लडाइ लडिरहेका छन् । गत मे महिनामा आइसिजेले पाकिस्तानलाई भारतले ल्याएको मुद्दामा फैसला नभइन्जेल जाधवलाई मृत्युदण्ड नदिन आदेश दिएको थियो । जाधवलाई कहाँ र कसरी पक्राउ गरियो भन्ने विषयमा विवादास्पद विवरणहरु रहेका छन् ।

पाकिस्तानले जाधवलाई मार्च ३, २०१६ का दिन उसको बलोचिस्तान प्रान्तबाट पक्राउ गरेको बताउँदै आएको छ । उक्त क्षेत्रमा विखण्डनवादीहरुले सशस्त्र विद्रोह चलाउँदै आएका छन् र त्यो विद्रोहमा भारतको हात रहेको पाकिस्तानले आरोप लगाउँदै आएको छ । भारतले भने जाधवलाई पाकिस्तानले इरानमा रहँदा त्यहीबाट अपहरण गरेको बताउँदै आएको छ । आणविक हतियार सुसज्जित दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचमा लामो कूटनैतिक समस्या रहेको छ र दिल्ली र इस्लामाबादमा रहेका सरकारहरुले प्राय एकअर्काविरुद्ध जासुसी गरेको आरोप लगाउँदै आएका छन् ।

तपाईंको प्रतिकृयाहरू