fbpx




लिमा, पुस ११ (बिबिसी)– पेरूमा पूर्व राष्ट्रपति अल्बेर्टो फुजिमोरीलाई क्षमा दिने सरकारी निर्णयकाविरुद्ध हजारैं प्रर्दशनकारी गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गर्दा झडप भएको छ ।

राजधानी लिमामा भेला भएका हजारौं प्रदर्शनकारीले आन्दोलनको दोस्रो दिन ‘क्षमा दिने निर्णय मानिदैँन’ भन्ने नारा लगाएको फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मानवअधिकार उल्लङ्घन र भ्रष्टाचार गरेको आरोपमा २५ वर्षे जेल सजाय काटिरहेका पूर्वराष्ट्रपति फुजिमोरीको स्वास्थ्य अवस्था खराब भएपछि वर्तमान राष्ट्रपति पेड्रो पाब्लो कुकजिन्स्कीले फुजिमोरीसहित अन्य सात जना बन्दीलाई मानवीयता आधारमा आइतबार क्षमा दिन आदेश दिएका थिए ।

राष्ट्रपति कुकजिन्स्कीको यस कदमले उनलाई एकपटक पुनः राजनीतिक संकटमा पारेको छ । केही दिन अघि मात्रै पनि उनले महाभियोगको त्यागेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराष्ट्रपति फुजिमोरीलाई गत साता अस्पताल भर्ना गरिएको थियो । उनको रक्तचाप अत्यन्तै कम भएको र मुटुको धड्कन पनि एकरुपता नभएको बताइएको छ ।

सोमबार राजधानी लिमामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले वर्तमान राष्ट्रपति कुकजिन्स्कीको राजीनामासमेत माग गरेपछि टेलिफिनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो निर्णयको बचाऊ गरेका छन् । टेलिभिजन सम्बोधनका क्रममा उनले आफ्नो निर्णयमा सर्वसाधारणमा रिस र आवेग भएको स्वीकार्दै अल्बेर्टो फुजिमोरीलाई जेलमा मर्न दिन नसक्ने बताएका छन् । ‘हामी जो प्रजातान्त्रिक भएको विश्वास गछौं हामीले अल्बेर्टो फुजिमोरीलाई जेलमा मर्न दिन हुँदैन भन्ने कुरामा सहमत छौं किनभने न्याय भनेको बदला हैन,’ कुकजिन्स्कीले बताए । ‘यो विषय स्वास्थ्यसँग जोडिएको विषय छ र पेरूका पूर्व राष्ट्रपतिको जीवनसँग जोडिएको विषय छ जसले अपराध गरेका थिए र १२ वर्ष जेल जीवन पनि बिताइसकेका छन्,’ उनले बताए ।

राष्ट्रपति कुकजिन्स्कीले सुरुमा फुजिमोरीलाई निको नहुने रोग लागेकाले उनको निर्णय फुजिमोरीको मेडिकल मुल्याङ्कनमा आधारित भएको र जेलमा राख्नु भनेको उनको जीवनलाई चिहान बनाउनु भएको बताएका थिए । तर फुजिमोरीका छोरा केन्जीले कुकजिन्स्कीविरुद्ध भ्रष्टाचार गरेको विषयमा बिहीबार भएको महाभियोग प्रस्तावलाई असफल बनाइदिएपछि राष्ट्रपतिको यस्तो कदम आएको बताइएको छ ।

राष्ट्रपति कुकजिन्स्कीले गत वर्ष भएको निर्वाचन अभियानका दौरान फुजिमोरीलाई जेलमुक्त नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सोमबारको प्रदर्शनमा प्रदर्शनकारीले फुजिमोरी हत्यारा र चोर भएकाले क्षमा दिन हुन्न भन्ने नारासहितको प्लेकार्ड बोकेका थिए भने केही प्रदर्शनकारीले ठूलो पेरुभियन झण्डा बोकेका थिए ।

प्रदर्शनमा फुजिमोरीको क्रुर शासनका बेला पीडित परिवारका सदस्यले पनि भाग लिएको एएफपीले जनाएको छ ।
‘सरकारको यो गैरकानुनी कदमलाई अस्वीकार गर्न हामी पीडितका आफन्तका रूपमा यहाँ आएका छौं, किनभने यस निर्णले अपराधलाई समर्थन गर्छ,’ फुजिमोरीको शासनका बेला पीडित परिवारकी गिसेला अर्टिजलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । राष्ट्रपति कुकजिन्स्कीको पेरूभियन कंग्रेस पार्टीका दुई जना सदस्य, भिसेन्ट जेबालोस र अल्बेर्टो डी बेलाउन्डीले पूर्वराष्ट्रपति फुजिमोरीलाई क्षमा दिने निर्णयविरुद्ध प्रदर्शनकै बेला राजीनामा दिएका छन् ।

यसैबीच सन् १९९० देखि २००० सम्म पेरूको शासन सत्ता सम्हालेका फुजिमोरीका समर्थक भने उनको उपचार भइरहेको सिटी अस्पताको बाहिर जम्मा भएका छन् । फुजिमोरीले माओवादी आन्दोलनलाई नेतृत्व गरेको भन्दै केही पेरूभियन नागरिकले उनलाई प्रशंसा गर्ने गरेको भएपनि उनका आलोचकहरुले भने उनलाई भ्रष्ट तानाशाहका रूपमा अथ्र्याउने गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू