fbpx




लन्डन, पुस १२ (बिबिसी)– पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामले गैरजिम्मेवारपूर्ण सामाजिक सञ्जाल प्रयोगकाविरुद्धमा चेतावनी दिएका छन् ।
गत जनवरी महिनामा राष्ट्रपतिको कार्यालय छोडेपछि दुर्लभ अन्र्तवार्ता दिने क्रममा ओबामाले यस्तो चेतावनी दिएका हुन् ।
सामाजिक सञ्जाललाई गैरजिम्मेवारपूर्वक प्रयोग गर्नाले जटिल विषयमा सर्वसाधारणको बुझाईलाई बिगारिरहेको र गलत सूचना प्रवाह भइरहेको चेतावनी दिएका छन् ।
उनको यस्तो भनाई निरन्तर रूपमा ट्विटर चलाइरहने उनका उत्तराधिकारी डोनाल्ड ट्रम्पप्रति लक्षित देखिएपनि उनले ट्रम्पको नाम भने लिएनन् ।
बिबिसी रेडियो फोरको बुधबारको कार्यक्रममा उनलाई राजकुमार ह्यारीले अन्तर्वार्ता लिएका थिए ।
बेलायती राजपरिवारको राजगद्दीको पाँचौं वरियताका उत्तराधिकारी राजकुमार ह्यारी क्रिसमस अवधिमा कार्यक्रम सञ्चालन गर्ने थुपै्र विशिष्ट व्यक्तिमध्ये एक हुन् ।
अमेरिकी पूर्व राष्ट्रपति ओबामाले शक्तिमा रहेका व्यक्तिले सामाजिक सञ्जालमा म्यासेजहरु पोस्ट गर्नुपूर्व सावधानी अपनाउनुपर्ने बताउँदै सामाजिक सञ्जालले नागरिकको कुराकानीलाई तोडमोड गरिरहेको चेतावनीसमेत दिएको बिबिसीले उल्लेख गरेको छ । अन्तर्वार्ताका क्रममा उनले तथ्यलाई वेवास्ता गरिनेछ र मानिसले केवल आफ्नो बुझाईलाई बलियो पार्ने खालका विषयवस्तु मात्रै अध्ययन गर्ने र सुन्ने छन् भन्दै भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी नागरिकसँग सिधैं सम्पर्कका लागि ट्विटर अकाउन्ट चलाएका अमेरिकी राष्ट्रपति ट्रम्पलाई ट्विटर बढी प्रयोग गरेको आरोप लाग्ने गरेको छ ।
ट्रम्पलाई सत्ता हस्तान्तरण गर्दा बेलाको सबै काम अझै नभएको भन्दै ओबामाले मिश्रित प्रतिक्रिया दिएका छन् ।
‘देश कसरी अगाडि बढ्ला भन्ने विषयमा सरोकार छ तर तपाईंलाई थाहा छ अमेरिकामा स्थायीत्व छ,’ उनले थप्दै भने ।

तपाईंको प्रतिकृयाहरू