fbpx




तेहरान, पुस १५ (एजेन्सी)– दुई दिनदेखि इरानका धार्मिक शासकविरुद्ध प्रदर्शन भएपछि सरकार समर्थित हजारौंले शनिबार इरानका विभिन्न सहरमा यार्ली निकालेका छन् ।

इरानको धार्मिक शासकविरुद्ध क्रुद्ध प्रदर्शनकारीले देशका विभिन्न सहरमा विरोध प्रदर्शन गरेपछि शासन व्यवस्थाको शक्ति देखाउनका लागि सरकार समर्थित हजारौंले र्याली निकालेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

राज्य सञ्चालित टेलिभिजनले सरकारको समर्थनमा राजधानी तेहरान, मास्साद र अन्य सहरमा भेला भएका मानिसको ठूलो भीड देखाएको छ । उनीहरुले इरानमा सन् २००९ मा भएको विवादित निर्वाचनभन्दा अघि भएको सरकार विरोधी अन्तिम राजनीतिक अस्तव्यस्ताको वर्षगाँठ मनाउन भेला भएको बताइएको छ । पूर्व तयारी साथ निकालिएको र्याली बिहीबार मस्साद सहरबाट कैयौं सहरमा फैलिएको सरकार विरोधी प्रदर्शनपछि भएको छ । सुरुमा मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शन पछि गएर इस्लामिक शाषणका विरुद्धमा परिणत भएको थियो ।

सामाजिक सञ्जालमा जारी भएको भिडियोमा सयौंको संख्यामा रहेका प्रदर्शनकारी शुक्रबार साँझ धार्मिक सहर कोम हुँदै अगाडि बढिरहेको देखिएको छ र त्यसी अगाडि बढिरहेका प्रदर्शनकारीले ‘तानाशाहको मृत्यु’ र ‘राजनीतिक बन्दीलाई रिहा’ गर जस्ता नारा लगाएको सुनिएको छ । इरानमा भएको प्रदर्शनमा सन्ल १९७९ को इस्लामिक क्रान्तिद्वारा हटाइएको राजतन्त्रको पक्षमा पनि नारा लागेको बताइएको छ ।

त्यसैगरी प्रदर्शनमा सहभागी अन्यले भने आफ्नो देशको समस्या सुल्झाउनु भन्दा इस्लामिक शासकले प्यालेस्टाइन र अन्य क्षेत्रीय आन्दोलनलाई समर्थन गरेको भन्दै आलोचना गरेको बताइएको छ । राजधानी इरान बाहेक पनि रासत, हामेदान, केमान्सा, क्जाजभिन र अन्य सहरमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोरा हानेको तस्बिर पनि सामाजिक सञ्जाल मार्फत बाहिरिएका छन् ।

मस्साद प्रदर्शनको समाचार पहिलो पटक प्रकाशन गर्ने इरानको सुधारवादी मिडिया नेटवर्कका प्रधानसम्पादक पायाम पारहिजका अनुसार प्रदर्शनकारीले शनिबार पनि प्रदर्शनमा उत्रिन इरानी नागरिकलाई आह्वान गरेका छन् । ‘आज केही झडप हुनसक्छ, तर आजपछि सम्भवतः केही हुने छैन,’ उनले बताए । ‘तर ढुक्क भएर पूर्वानुमान भने गर्न सकिँदैन किनभने पछिल्लो प्रदर्शन पनि कुनै आंकलन बिना नै भएको थियो,’ उनले बताए ।

विश्वले हेरिरहेको छ : अमेरिका
इरानको विभिन्न सहरमा गत बिहीबार र शुक्रबार भएको सरकारविरोधी प्रदर्शनलाई सरकारी पक्षले गरेको दमनका बारेमा विश्वले हेरिरहेको अमेरिकाले बताएको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले एक विज्ञप्ति निकाल्दै भनेको छ, इरानी जनता शासकको भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति आतंकवादमा लगाउने नीतिदेखि दिक्क भइसकेका छन् ।
‘इरानी सरकारले आफ्नो देशको जनताको वाक स्वतन्त्रतासहितका अन्य अधिकारकलाई सम्मान गर्नुपर्छ । विश्वले हेरिरहेको छ,’ ह्वाइट हाउसका प्रवक्ता सारा हकबी सान्डेर्सले ट्विट गरेकी छिन् ।

तपाईंको प्रतिकृयाहरू