fbpx




रोल्पा, असोज ४

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाको थवाङमा पुनः जनसत्ता ब्युँझाएको छ ।

जनताको सपना पूरा नभएको र राज्यसत्ता पूर्णतया दलाल तथा पूँजीवादी भएको भन्दै नेकपाले जनसत्ता पुनः लागू गरेको बताएको छ । गाउँपरिषद् नाम दिइएको जनसत्ताको संयोजक किताब घर्तीलाई तोकिएको छ । १७ सदस्ययी जनपरिषद् बनाइएको छ । जनतालाई न्याय दिने विषयमा अहिले जनसत्ताले विशेष रुपमा काम गरिरहेको नेकपाका रोल्पाका सेक्रेटरी दलबहादुर खत्रीले जानकारी दिएका छन् । ‘न्यायसँगै जनताका विकासका काम पनि गरिरहेका छौं,’ उनले भने । ‘दलाल राज्यसत्ताका मानिस कसरी कमाउने भन्नेमा मात्रै लागिरहेका छन्, हामी भने जनताको सेवा तल्लिन छौं,’ उनले भने ।

युद्धकालको झल्को दिने गरी बनाइएको जनसत्ताबाट सेवा लिन थवाङवासीलाई नेकपाले आग्रह गरेको छ । द्वन्दका बेलाको जनसत्ता र अहिलेको जनसत्तामा फरक रहेको भन्दै नेकपाले पहिले जस्तो कोही दुश्मन नरहेको र सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताएको छ ।
यसैबीच नेकपाले रोल्पा जिल्लाभर नै जनपरिषद् गठन गरेको जानकारी दिएको छ । तत्कालीन गाविसमध्ये थवाङ नेकपाको आधार इलाका भएका कारणले यहाँ पुनः जनसत्ता लागू गरिएको बताइएको छ । थवाङमा हुने सबै खालका काममा जनसत्ताका प्रमुखसँग सहकार्य गर्नुपर्ने नेकपाले जनाएको छ । सककार्य नगरी थवाङ गाउँपालिकाका अध्यक्षले कार्यक्रम गर्न खोज्दा आफूहरुले अपहरण गरेको भन्दै जिल्ला सेक्रेटरी खत्रीले भने, ‘यदि सहकार्य नगरे हामी चुप लागेर बस्ने छैनौ । ’

आजको नागरिक दैनिकमा समाचार छ ।

तपाईंको प्रतिकृयाहरू