fbpx




काठमाडौं, १३ असोज
आन्दोलनरत डाक्टरहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सरकारसँग सहमति भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षाको ग्यारेन्टी गर्ने लिखित प्रतिबद्धता जनाएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिकित्सक संघ र सरकारी पक्षबीच शुक्रबार बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री देउवाले चिकित्सकको पूर्ण सुरक्षाका लागि जस्तोसुकै कदम चाल्ने प्रतिवद्धता जनाएको र मन्त्रिपरिषदको निर्णय पनि सच्चिएर आएकाले आन्दोलन फिर्ता लिएको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले बताएका छन् ।

 

उपचारको क्रममा कुनै बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति स्वयं चिकित्सकले दिनुपर्ने सरकारको निर्णयविरुद्ध चिकित्सकहरु असोज २ गतेदेखि देशभरका अस्पताल, क्लिनिक र नर्सिङ होम बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बन्चित भएपछि चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन दबाव बढेको थियो ।

न्यूयोर्क भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री देउवाले चिकित्सकहरूलाई वार्तामा बोलाएका थिए । वार्तामा प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गर्ने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए ।

वार्तामा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाविरुद्ध आक्रमण र दुव्र्यवहार गर्नेमाथि कडा कारबाही गर्ने गरी कानुन संशोधन गर्ने सहमति भएको छ । सरकार र चिकित्सक संघबीच भएको सहमतिपत्रमा स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मी र नेपाल चिकित्सक अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले हस्ताक्षर गरेका छन् । उपचारको क्रममा डाक्टरको लापरवाही पुष्टि भए कारबाहीका लागि चिकित्सक संघले पनि सहयोग गर्ने सहमतिपत्रमा उल्लेख छ ।

चिकित्सकहरुको मागअनुसार यसअघि नै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ संशोधन गर्ने प्रतिबद्धता जनाएको थियो ।

हेर्नुहोस् सरकार र चिकित्सक संघबीच भएको सहमतिको पूर्ण पाठ : 

तपाईंको प्रतिकृयाहरू