fbpx




काठमाडौं, असोज १९, नेपालनीति – राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेलका लागि प्रतिनिधिसभामा १५ सिट मागेपछि लोकतान्त्रिक गठबन्धनभित्र खैलाबैला मच्चिएको छ ।

प्रदेश सभामा माग्ने सिटबारे कार्यदल तहमा छलफल गर्ने बताएको राप्रपाले झापा, मकवानपुर र बाँके सबैजिल्लामा कम्तिमा १ सिट माग गरेको छ ।

मकवानपुर राप्रपा अध्यक्ष कमल थापाको गृहजिल्ला पनि हो । त्यस्तै महामन्त्रीद्वय राजेन्द्र लिङदेन झापा र धवलशम्शेर राणा बाँकेका हुन् । यी तीन जिल्लाको हकमा कुनै सम्झौता नगर्ने राप्रपाको अडान छ । साथै, प्रदेश सभामा पनि राप्रपाले कम्तिमा २५ सिट माग्ने भएको छ । धादिङ, धनुषा, सिरहा, पर्सा, सल्यान, बैतडीलाई राप्रपाले दोस्रो रोजाईमा राखेको नेता दिलनाथ गिरीले जानकारी दिएका छन् ।

लोकतान्त्रिक गठबन्धनको कार्यदलमा राप्रपाले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङलाई पठाउने निर्णय गरिसकेको छ । नेता गिरीका अनुसार राजतन्त्र र हिन्दू राज्य पार्टीको मुल सिद्धान्त भएकाले गठबन्धनको अन्तिम लक्ष्य यही हुनुपर्ने अडान राप्रपाले लिएको छ । तर, बाम गठबन्धनका कारण प्रजातन्त्र खतरामा परेको स्थितिमा पहिले लोकतन्त्रको रक्षाका निम्ति आफूहरु मिलेर जान तयार भएको गिरीले बताए । राप्रपाले गठबन्धनमा आवद्ध दलको वरियतामा राप्रपा प्रजातान्त्रिकभन्दा अघि हुनुपर्ने माग गरेको छ । त्यसबारे कार्यदलमा कुरा राख्ने र त्यहाँ बन्ने सहमतिका आधारमा गठबन्धनको भविष्य तय हुने नेता गिरीले बताए । तर, आगामी चुनावका लागि लोकतान्त्रिक गठबन्धनमै आवद्ध भएर राप्रपा अघि बढ्ने मनस्थितिमा पुगेको उनले उल्लेख गरे ।

तपाईंको प्रतिकृयाहरू