fbpx




काठमाडौं, असोज २३, नेपालनीति -नेपालले दश गजा र सीमा क्षेत्रमा बनेका गैरकानुनी संरचना हटाउन भारतसँग प्रस्ताव गरेको छ ।

राजधानीमा आइतबार सम्पन्न नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को बैठकमा दुवै देशबीचको सीमालाई अन्तर्राष्ट्रिय मापदण्ड र वैज्ञानिक व्यवस्थापन गर्नका लागि गैरकानुनी रुपमा निर्माण गरिएको संरचना हटाउन प्रस्ताव गरेको हो । ‘दश गजा भारतका तर्फबाट मिचिएका छन् । कतिपय क्षेत्रमा नेपालका तर्फबा पनि मिचिएका पाइन्छन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सीमालाई व्यवस्थित गर्ने भन्ने हो,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनका क्रममा समूहका सदस्य राजन भट्टराईले भने । ‘सबैभन्दा वैज्ञानिक र अन्तर्राष्ट्रिय मान्यताका आधारमा सीमा व्यवस्थापन गर्ने भन्ने हाम्रो निष्कर्ष हो । सीमा क्षेत्रका जनतालाई सहज होस् भन्ने हो,’ भट्टराईले बताए ।

प्रबुद्ध समूहका नेपाली पक्षका नेता भेषबहादुर थापाले सीमालाई बढी सुरक्षित बनाउने लक्ष्य रहेको बताए ।  थापाले भने, ‘अहिले देखिएका विकृति हटाउन सीमा बन्द होइन नियमनमा जानुपर्छ भन्ने हो । सीमा खुलापनको विगतको परिभाषा बदलिएको बुझ्न आवश्यक छ । खुलापनको अवधारणाबाट दुवै पक्ष पछि हटिसकेको अवस्था छ । अब सीमाबारे नयाँ ढंगले जाने भन्ने नै हो ।’

सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहितका नेपाल भारत सम्बन्धका समग्र विषयमा सुझाव दिन गठित समूहमा दुवै देशका चारचार जना सदस्य रहेका छन् । नेपाल र भारतबीच आलोपालो गरी हुँदै आएको समूहको पाँचौं बैठक आइतबार काठमाडौंमा सम्पन्न भएको हो । बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहति सबै विषयमा नेपाली पक्षले आफ्नो धारणा राखिसकेको समूहका सदस्य भट्टराईले बताए । समूहका नेपाली नेता थापाले सबै विषयमा छलफल भए पनि ठोस निष्कर्षमा पुगिनसकेका कारण अहिले नै विषय बाहिर ल्याउन उपयुक्त नहुने बताए ।
बैठकमा जलस्रोतसहितका विषयमा पनि छलफल भएको बताइएको छ । समूहका सदस्य सूर्यनाथ उपाध्यायले भने, ‘अहिलेसम्म जलस्रोतबारे के भयो र अब के गर्नुपर्छ भन्नेमा छलफल भयो । त्यस्तै भोली कता जाने भन्नेमा नीतिगत कुराकानी भइरहेको छ ।’
समूहमा थापा, भट्टराई र उपाध्यायसहित निलाम्बर आचार्य पनि रहेका छन् ।

आजको नागरिक दैनिकमा समाचार छ ।

 

तपाईंको प्रतिकृयाहरू