fbpx




बैंकक, असोज २९ (एजेन्सी) – आमनिर्वाचनको वातावरण बनाउन थाइल्यान्ड सरकारले सबै राजनीतिक दललाई आग्रह गरेको छ ।

थाइ सरकारले आगामी वर्षको नोभेम्बर महिनामा आम निर्वाचन गर्ने घोषणा गत साता मात्रै गरेको थियो । त्यसैले आमनिर्वाचनमा सहभागी हुन र वातावरण निर्माण गर्न सरोकारवाला सबै पक्षलाई सरकारले आग्रह गरेको छ ।

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचाले आगामी सन् २०१८ को जुन महिनामा निर्वाचनको मिति घोषणा गर्ने योजना सरकारले बनाएको जानकारी दिएका थिए । उनले जुन महिनामा निर्वाचन घोषणा गर्ने र नोभेम्बरमा निर्वाचन सम्पन्न गर्ने बताएका थिए ।

थाइल्यान्डको जुन्ता सरकारका प्रधानमन्त्री ओचाले उक्त निर्वाचनमा सबै राजनीतिक दलको सहभागिताका लागि वातावरण निर्माण गर्न आग्रह गरेको बताइएको छ ।

थाइल्यान्डमा हाल सैनिक सरकार छ । प्रधानमन्त्री ओचा सन् २०१४ मा तत्कालिन प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई अपदस्थ गरी सत्तामा आएका थिए ।

प्रधानमन्त्री ओचामाथि प्रजातान्त्रिक तवरबाट नयाँ संसदीय निर्वाचन गर्न र यसका माध्यमबाट सैनिक सरकारले राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्नुपर्नेमा दबाब बढेको बताइएको छ ।

उनीमाथि निर्वाचन गरी नागरिकलाई सत्ता हस्तान्तरण गर्न ठूलो दबाब पर्दै आएकोले सरकारले निर्वाचनको मिति तय गरेको बताइएको छ । हाल थाइल्यान्डमा राजनीतिक क्रियाकलापमा प्रतिबन्ध लगाइएकाले पनि उनको आलोचना हुँदै आएको छ ।

सैनिक जर्नेल रहेका ओचाले राजनीतिक दलका क्रियाकलापमा प्रतिबन्ध लगाइएकोमा प्रतिबन्ध फुकुवा गर्ने विषयमा आफूले विचार गरिरहेको पनि बताएका छन् । हालै राजधानी बैंककमा सम्वाददातासँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओचाले आगामी वर्षको नोभेम्बार महिनामा निर्वाचन गर्ने खुलासा गरेका थिए ।

अपदस्थ प्रधानमन्त्री सिनावत्रालाई भने भ्रष्टाचारको मुद्दा लागेको छ । दुबईमा निर्वासित जीवन बिताइरहेकी उनलाई हालैमात्र थाईल्यान्डको सर्वाेच्च अदालले पाँच वर्षको जेल सजायको फैसला सुनाएको थियो ।

 

तपाईंको प्रतिकृयाहरू