fbpx




वासिङ्टन, असोज ३० (बिबिसी) – अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको मतभेद कूटनीतिक माध्यमबाट समाधान गर्ने चाहेको आश्वस्त पारेका छन् ।

अन्तिम अवस्था नआएसम्म उत्तर कोरिया संकट समाधानका लागि कूटनीतिक उपाय नै खोजिरहने उनले सिएनएनसँगको अन्तर्वार्ताका क्रममा बताए । ‘उत्तर कोरियाले पहिलो बम नखसालेसम्म कूटनीतिक प्रयास जारी रहने छ,’ उनले बताए ।
विभिन्न प्रतिबन्ध र कूटनीतिको बलले उत्तर कोरियाको परमाणु लक्ष्यविरुद्ध यसअघि कहिले नल्याएको अन्तर्राष्ट्रिय एकता ल्याएको पनि विदेशमन्त्री टिलरसनले बताए । गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री टिलरसनलाई उत्तर कोरियाली शासक किम जोङ–उनसँग वार्ता गर्न खोजेर आफ्नो समय खेर नफाल्न भनेका थिए ।

लडाकु जेट, विनासक र युद्धक विमानसहित कोरियाली प्रायद्विपको वरिपरिका सामुद्रिक क्षेत्रमा संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा सुरु गरेको पछिल्लो सैन्य अभ्यासपछि विदेशमन्त्री टिलरसनको पछिल्लो धारणा सार्वजनिक भएको हो । अमेरिका र दक्षिण कोरियाले गर्ने यस्ता खालको अभ्यासले उत्तर कोरियालाई पटक पटक आक्रोशित बनाउने गरेको छ । अमेरिका र दक्षिण कोरियाको यस्तो कदम युद्धको तयारी भएको आरोप प्योङयाङले लगाउने गरेको छ ।
आइतबार सिएनएनसँगको अन्तर्वार्ताका क्रममा विदेशमन्त्री टिलरसनले जुलाई महिनामा रक्षा मन्त्रालय पेन्टागनको बैठकपछि राष्ट्रपति ट्रम्पलाई मुर्ख व्यक्ति भनेको भन्ने विषयमा अभिव्यक्ति दिन पुनःअस्विकार गरेका छन् । ‘म त्यो अनावश्यक चिजमा कुनैपनि प्रकारको टिप्पणी व्यक्त गर्न चाहन्न,’ उनले यस्तो प्रश्नको जवाफ दिएर महत्व नदिने पनि उनले बताए । टिलरसनले ट्रम्पलाई मूर्ख व्यक्ति भनेपछि राष्ट्रपतिले विदेशमन्त्रीलाई सामान्य ज्ञानको परीक्षण गर्न चेतावनी दिएको विवरण सार्वजनिक भएको थियो तर पछि ह्वाइट हाउसकी प्रवक्ताले त्यो केवल हाँसीमजाक भएको प्रतिक्रिया दिएकी थिइन् ।

हालैका महिनामा उत्तर कोरियाले छैटौं परमाणु परीक्षण गर्दै जापानको आकाशमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेर अन्तर्राष्ट्रिय धारणालाई चुनौती दिएको छ । संयुक्त राष्ट्रसंघलगायतको प्रतिबन्धलाई पनि वेवास्ता गर्दै कम्युनिस्ट राष्ट्र उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने उसको आणविक क्षमताको क्षेप्यास्त्रको विकास गरिरहेको विशेषज्ञहरुले बताउँदै आएका छन् ।

गत महिनाको अन्त्यमा टिलरसनले अमेरिका उत्तर कोरियासँग प्रत्यक्ष सम्पर्कमा रहेको र वार्ताको सम्भाव्यता हेरिहेको खुलासा गरेका थिए । कैयौं महिनासम्मको दुई देशबीचको तनाबको अवस्था चलिरहेका बेला टिलरसनले गरेको यस्तो खुलासाले धेरैलाई अचम्मित पारेको थियो । टिलरसनले उत्तर कोरियासँग वार्ताको सम्भावना रहेको भनेको भोलिपल्ट अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले उत्तर कोरियामाथि जे गर्न पर्ने हो त्यो गर्छ भन्दै उनलाई आफ्नो शक्ति सञ्चय गर्न भनेका थिए ।

यसैबीच उत्तर कोरियविरुद्ध नयाँ प्रतिबन्ध लगाउने विषयमा युरोपेली संघका विदेशमन्त्रीहरुको बैठक सोमबारबाट सुरु भएको छ । युरोपेली संघले उत्तर कोरियाविरुद्ध लगाउने नयाँ प्रतिबन्धमा विदेशमा बसेर कमाइ गर्ने उत्तर कोरियाका नागरिकले घरमा पठाउने रकम घटाउने खालका विषय पनि रहने बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू