fbpx




काठमाडौं, असोज ३१ (नेपालनीति) – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।

काठमाडौंमा जारी संघको आठौं विश्व सम्मेलनमा अध्यक्षका अर्का प्रत्याशी उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले एक हजार एक सय ९७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटम प्रतिद्वन्दी गुरुङले भने मात्र पाँच सय ८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ ।

खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डाक्टर बद्री केसी, सचिवद्वयमा डबरबहादुर (डिबी) क्षेत्री र जानकी गुरुङ, कोषाध्यक्षमा हिक्मतबहादुर थापा र सहकोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन् । अध्यक्ष पदमा विजयी भएपछि प्रतिक्रिया दिँदै भट्टले आफ्नो कार्यकालमा एनआरएनएको नयाँ अध्यायको सुरु हुने तथा स्थापनाकालदेखि पूरा नभएका अजेन्डा पूरा गर्ने बताए । अब सबैलाई साथ लिएर अघि बढ्ने उनको भनाइ थियो । निर्वाचनमा एक हजार आठ सय ५४ सहभागी रहेका थिए । १४ वर्ष अघि स्थापना भएको संघले हाल ७७ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक दुई वर्षमा नेपालमै हुने गरेको छ ।

त्यसैगरी महिला संयोजकमा रजनी प्रधान र युवा संयोजकमा सुदन थापा विजयी भएका छन् । अमेरिका क्षेत्रीय संयोजकमा गौरी जोशी, एसिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा र युरोप क्षेत्रीय संयोजकमा विश बरुवाल विजयी भएका छन् । निर्वाचनमा अधिकांश पदमा भट्ट प्यानलका उम्मेदवार विजयी भएका छन् ।

 

तपाईंको प्रतिकृयाहरू